नेभिगेशन
अन्य

उपत्यकामा बन्दको प्रभाव सामान्य, सुरक्षा कडा

काठमाडौं । आठ वर्षको पर्खाइपछि आज नयाँ संविधानको घोषणा हुने दिन केही असन्तुष्ट राजनीतिक दलले बन्दको आह्वान गरेका छन् । बन्दको आह्वान गरिएपनि काठमाडौं उपत्यकामा भने त्यसको कुनै असर भने परेको छैन । बाटोमा गाडीहरु सामान्य रुपमा गुडीरहेका छन् । आज सरकारले सार्वजनिक बिदा दिएकोले पनि अन्य दिनभन्दा बाटोमा गाडी केही कमै देखिएका छन् । यता दिउँसो संविधानसभा भवन नयाँबानेश्वरमा हुने विशेष समारोहका लागि संविधानसभा वरपरको सुरक्षा पनि कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रि अनुसन्धान विभाग संविधानसभा भवनको सुरक्षामा खटिएका छन् । राष्ट्रपति लगायत विभिन्न विशिष्ठ व्यक्ति तथा कुटुनीतिज्ञहरू विशेषा कार्यक्रममा सहभागी हुन नयाँबानेश्वर जाने भएका हुँदा उनीहरुले प्रयोग गर्ने मार्गमा पनि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । महानगरिय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी नारायण सिंह खड्काका अनुसार उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘अहिलेसम्म हामीले बन्द गराउन ढुंगा हान्दै हिँड्ने काठमाडौंमा ९ र ललितपुरमा ३ गरि १२ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘कहिँकतै कसैले अवरोध गर्न खोजे नियन्त्रणमा लिइहाल्ने नीति छ ।’ एसएसपी खड्काका अनुसार आन्दोलनकारीको ढुंगा प्रहारबाट कलंकीमा आज एउटा ट्रकको सिसा फुटेका बाहेक कुनै घटना घटेको छैन । ‘हामीले संविधानसभा र त्यसको वरपर क्षेत्रमा व्यापक सुरक्षा परिचालन गरेका छौं,’ उनले भने, ‘भिभिआईपीको आवतजावत पनि हुने भएकाले विशेष व्यवस्था गरिएको छ ।’ उनको अनुसार प्रधान कार्यालय र उपत्यकाका अन्य मुख्य वृत्तहरुमा रिजर्भ फोर्सलाई स्ट्यान्डबाई राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्