नेभिगेशन
अन्य

तर्साउनका लागि उपत्यकाका बिभिन्न स्थानमा बम आतंक

काठमाडौं । संविधान जारी हुने दिन बिहानै काठमाडौ र ललितपुर केहि स्थानमा बम आतंक फैलाइएको छ । काठमाडौंको रविभवनमा शंकास्पद बस्तु भेटिएको छ भने ललितपुरको महालक्ष्मीस्थान र पूल्चोकमा बम भेटिए। रविभवनमा शंकास्पद वस्तु भेटिएको भन्दै स्थानीय विहान ६ बजे प्रहरी वृत्त कालिमाटीमा खबर गरेका थिए । शंकास्पद वस्तु भेटिएपछि प्रहरी प्रधान कार्यालयबाट खटिएको बम डिस्पोजल टोलीले डिस्पोज गराएको प्रहरीवृत्त कालीमाटीले जनाएको छ । यस्तै महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पूल्चोकको सुजुकी सोरुम अघि बम भेटिएको थियो । बम भेटिएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । पूल्चोकमा भेटिएको बम डिस्पोज गर्ने बेलामा २ पटक ठूलो रुपमा आवाज आएको थियो भने महालक्ष्मीस्थानको एक पटकमात्र। पूल्चोकमा पहिलो पटक प्रयास गर्दा डिस्पोज नभएको र पुन दोस्रो पटक प्रयास गरेर डिस्पोज गरेको ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए। महालक्ष्मी स्थानमा भेटिएको बम चिया पकाउने किल्टीभित्र रहेको डिएसपी किसनसिंह थापाले जानकारी दिए।पूल्चोकमा भेटिएको बम भने बाकस भित्र ग्ल्याल्डिनमा राखिएको थियो। बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको २०७१ साल पुषको पर्चा र झन्डा बरामद गरेको छ। ललितपुरका एसएसपी अधिकारीले तर्साउने मनसायले बम राखेको बताए। दुवै स्थानमा डिस्पोज भएको बम पेट्रोल बम भएको प्रहरीको अनुमान छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्