नेभिगेशन
अन्य

बेहुलीझैँ सिँगारियो संविधानसभा

काठमाडौं । शनिबार साँझसम्ममा संविधानसभा बेहुलीझैँ सिँगारिएको छ । व्यवस्थापिका–संसद्को बैठक भएकाले संविधानसभा भवनको भित्री भाग भने आइतबार बिहान मात्रै सजाउने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । भवनको अग्रभागमा रहेका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको झन्डा फहराइएको छ । भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा सजाइएका छन् । अतिथि आउने–जाने बाटोमा गमलामा रंगीचंगी फूल राखिएका छन् । बाह्य सजावटको सम्पूर्ण काम नेपाली सेनाले गरेको हो । भवनभित्रको सजावट सचिवालयको संयोजनमा त्यहाँका कर्मचारीले गर्नेछन् । समारोहका क्रममा संविधानसभा भवनको ठीकअघि पानीको फोहोरा चलाइनेछ । संविधान जारी गर्न कारगेडमा आउने राष्ट्रपति रामवरण यादवलाई विशेष सम्मानका साथ संविधानसभा भवनभित्र लैजाने र ल्याउने रिहर्सल शनिबार बेलुका नै सम्पन्न भइसकेको छ । संविधानसभा भवनभित्र विभिन्न रङका फूलमाला र पुष्पगुच्छाले हल पूरै सिँगारिनेछ । रंगीचंगी हलको अग्रभागमा रहेको रोस्ट्रममा सभाध्यक्ष नेम्वाङ, उनको दाहिनेपट्टि उही आकार, रङ र आकृतिको अर्को कुर्सीमा राष्ट्रपति यादव बस्नेछन् । सँगै महासचिव मनोहरप्रसाद भट्टराई र केही कर्मचारी बस्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्