नेभिगेशन
अन्य

छुटेका सभासद्ले ४ बजेसम्म हस्ताक्षर गर्न पाउने

काठमाडौं । संविधान निर्माणको जारी प्रक्रियाप्रति असन्तुष्टि जनाएर बाहिरिएका विभिन्न दलका सभासद्ले संविधान जारी गर्नुअघिसम्म हस्ताक्षर गर्न पाउने भएका छन् । असन्तुष्ट भएर वा विशेष कारणले शुक्रबार भएको हस्ताक्षर समारोहमा सहभागी हुन नसकेका सभासद्का लागि संविधान जारी गर्नुभन्दा अघिसम्म हस्ताक्षर गर्ने मौका दिने सभाध्यक्ष नेम्वाङले जानकारी दिए । ‘अनुपस्थित दल र सभासद्हरूले आइतबार संविधान जारी गर्नुभन्दा अघि संविधानमा हस्ताक्षर गर्न पाउनुहुन्छ,’ नेम्वाङले भने, ‘संविधानसभालाई यहाँसम्म ल्याइपुर्‍याउन उहाँहरूले खेलेको भूमिका र बगाएको पसिनाको परिणाम भएकाले अन्तिम अवस्थामा आएर भए पनि हस्ताक्षर गरेर स्वामित्व ग्रहण गर्न म आग्रह गर्छु ।’ नेम्वाङले संविधानसभाको प्रक्रियाभन्दा बाहिर रहेका दल र सभासद्हरूको पनि ठूलो योगदान रहेकाले ऐतिहासिक संविधानसभाले जारी गर्ने संविधानमा हस्ताक्षर गर्नबाट नछुट्न आग्रह गरे । ‘बनेको संविधानको जगमा उभिएर, आवश्यक छलफल गरेर भोलिका दिनमा संशोधनमार्फत संविधान सच्याउन सकिन्छ,’ नेम्वाङले भने, ‘नेपालको इतिहासमा पहिलोपटक हुन लागेको यो अवसरबाट वञ्चित नभई अन्तिम अवस्थामा आएर भए पनि संविधानको प्रतिमा हस्ताक्षर गर्न म आग्रह गर्दछु ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्