नेभिगेशन
अन्य

झापाको प्रहरी चौकी र चचामा बम बिस्फोट, ३ प्रहरी घाइते

दमक । झापाको प्रहरी कार्यालय र चर्चमा बिस्फोटन भएको छ । इलाका प्रहरी कार्यलय सुरुंगामा आज बिहान ७ बजे र गएराती गएराती झापाको विभिन्न ठाउँमा रहेको चर्चमा बम बिस्फोट गराइएको छ । इलाका प्रहरी कार्यलय सुरुंगामा भएको बिस्फोटमा परी तीनजना प्रहरी घाइते भएका छन् । असइ र दुईजना प्रहरी घाइते भएको जिल्ला प्रहरीका एसपी थानेश्वर ज्ञवालीले जानकारी दिए । स्थानियबासीका अनुसार प्रहरी चौकी परिसरमा राखिएको बम एक्कासी बिस्फोट हुँदा प्रहरी घाइते भएका हुन् । घाइते प्रहरीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । बम कसले राखेको हो भनेर प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस्तै गएराती झापाको विभिन्न ठाउँमा रहेको चर्चमा बम बिस्फोट गराइएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार राति साढे ११ बजेतिर दमक–१० स्थित ज्योति चर्च र त्यही समयमा खजुरगाछिको इण्डाइनियल वेष्टल्याड चर्चमा बम बिस्फोट गराइएको छ । बिस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । यता दमकको चर्चमा भने एउटा बम गेटमा र अर्को चर्चको दक्षिणतिरको झ्यालमा पड्काइएको डिएसपी इश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बमले झ्यालका सिसाहरु फुटेका छन् । यो घटनाले आफूहरुलाई दुखित बनाएको ज्योती चर्चका पाश्चर एडी थुलुङले बताए । यस विषयमा आधिकारिक धारणा केहीबेरपछि बैठक बसेर सार्वजनिक गरिने थुलुङले बताए । यस्तै गौरादहको चर्चमा पनि बम राखिएको थियो । प्रहरीका अनुसार उक्त बम भने पड्किएन । तीनवटै घटनास्थलमा हिन्दू मोर्चा नेपालका पर्चाहरु भेटिएको प्रहरीले जनाएको छ । पर्चामा मधेसी, थारु, संविधानसभाभन्दा बाहिर भएका दलहरुलाई वेवास्ता गरिएको र तीन दलले बहुसंख्यक हिन्दुहरुलाई वेवास्ता गर्दै धर्म निरपेक्ष राज्य घोषणा गरेकोमा आपत्ति जनाइएको छ । पर्चामा काठमाडौंमा अनसनरत हिन्दुधर्मीहरुलाई वेवास्ता गरिएकोमा आक्रोश व्यक्त गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्