नेभिगेशन
अन्य

संविधानका २३ धारा पारित, धर्मनिरपेक्षता पनि पास

काठमाडौं । हिजोदेखि सुरु भएको संविधानको विधेयकमाथिको मतदानको क्रममा २३ वटा धारा पारित भएका छन् । हिजो तीन वटा धारा पारित गरेको संविधानसभा बैठकले आज त्यसपछिका २० वटा धारा पारित गरेको छ । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग संविधानसभाको बहुमतले अस्वीकृत गरेको छ । संविधान संशोधिक विधेयकको धारा ४ मा रहेको धर्मनिरपेक्षताको व्यवस्था खारेज गर्न राप्रपा नेपालले गरेको संशोधन प्रस्ताव ध्वनी मतको आधारमा अस्वीकृत भएको हो । संविधानसभाको बैठकमा सभाध्यक्ष सुबास नेम्वाङले संशोधन फिर्ता लिन राप्रपा नेपाल अध्यक्ष कमल थापालाई समय दिएका थिए । थापाले फिर्ता नलिने बताएपछि प्रस्ताव ध्वनी मतमा गएको थियो । बैठकमा सभासद भास्कर भदा र कुमार खड्काले पनि धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम हुनुपर्ने प्रस्ताव राखेका थिए । राप्रपा अध्यक्ष थापाले बैठकमा आफ्नो प्रस्ताव मतदानमार्फत अघि बढाउन आग्रह गरे पनि सभामुख नेम्वाङले त्यसको लागि ६१ जना सभासदले प्रस्ताव राख्नुपर्ने बताए । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधानसभाका २१ सभासद मात्रै थिए । संविधानसभाको आजको बैठकमा संविधानको संशोधित विधेयकमाथि मतदान जारी छ । हिजोदेखि संविधानसभामा विधेयकको धारामाथि मतदान सुरु भएको हो । हिजोको बैठकमाले संविधानको ३ वटा धारा पास गरेको थियो । संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सदस्यमध्ये ५ सय ४० सभासद संविधान निर्माणको अन्तिम प्रक्रियामा सहभागी छन्। यो कुल सदस्य संख्याको ९० दशमलव ३१ प्रतिशत हो । कांग्रेस, एमाले र एमाओवादीका प्रमुख सचेतकले पेस गरेको धर्म निरपेक्षताको व्याख्या भने संविधानसभाले पारित गरेको छ । धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने ब्याख्या संविधान सभाले पास गरेपछि यो ब्याख्या संविधान विधेयकको अंग बनेको हो । मधेस केन्द्रित साना दलहरूका ५८ सभासद (एक निलम्बितसमेत)ले भने संविधानको प्रारम्भिक मस्यौदा निर्माणको प्रक्रियादेखि नै संविधानसभा बहिष्कार गरिरहेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्