नेभिगेशन
अन्य

तराई बन्दका कारण स्वर्गद्धारी एक महिनादेखि सुनसान

प्युठान । लगातारको तराई बन्दका कारण भारतीय तीर्थयात्री स्वर्गद्धारीमा नआउँदा स्वर्गद्धारी पछिल्लो एक महिनादेखि सुनसान जस्तै भएको छ । स्वर्गद्धारीमा आउने वार्षिक झन्डै दुई लाख ६० हजार तीर्थयात्रीमध्ये एक लाख ५० हजार जति भारतीय तीर्थयात्री रहने गरेका छन् । भारतको हिमालञ्चल, उत्तर प्रदेश, विहारलगायत क्षेत्रबाट स्वर्गद्वारी आउने तीर्थयात्री साउन र भदौ महिनामा धेरै आउने गर्दछन् । ‘स्वर्गद्धारीको व्यवस्थापन तथा सञ्चालनका लागि भारतीय तीर्थयात्रीकै भेटिको आधारमा आश्रम चल्ने गरेको छ ।’ आश्रमका कोठारी प्रमुख हरि अधिकारीले भने–‘वैशाखमा गएको भूकम्पले स्वर्गद्धारीमा आउने तीर्थयात्री आधाले घटेका थियो । त्यससँगै लगातारको बन्दले आश्रममा तीर्थयात्रीनै आएका छैनन् ।’ साउन र भदौ महिनामा मात्रै करिब ४० हजार भारतीय तीर्थयात्री आश्रममा आउने गरेकोमा यस पटक एक जना पनि नआएको कोठारी प्रमुख अधिकारीले बताउनुभयो । ‘यो सिजन भारतीय तीर्थयात्रीका लागि उत्तम सिजन हो’ अधिकारीले भने – ‘पछिल्ला दिनमा आन्तरिक झन्डै पाँच हजारमात्रै तीर्थयात्री आएका छन् ।’ प्यूठानसँगै, दाङ, रोल्पा, रुकुम, सल्यान, अर्घाखाँची, गुल्मीलगायत क्षेत्रबाट आन्तरिक तीर्थयात्री धेरै आउने गरे पनि उनीहरुले आश्रममा थोरै मात्रामा भेटी दिने गर्दा उनीहरुको भेटीले आश्रममा केही नपुग्ने आश्रमले जनाएको छ । ‘आन्तरिक पर्यटक चार्डपर्वको समयमा धेरै आउने गर्दछन्’ आश्रमका लेखा अधिकृत वासुदेव भट्टराईले भने – ‘गत वर्ष रु एक करोड ४२ लाखसम्म भेटी सङ्कलन भएको थियो । त्यसैले आश्रम सञ्चालन गरेका छौँ तर यस पटक सो भेटीको आधा पनि सङ्कलन नहुने जस्तो देखिएको छ ।’ दैनिक ३०० सम्म तीर्थयात्री स्वर्गद्धारीमा आउने गरेकोमा अहिले त्यो सङ्ख्या ह्वात्तै घटेको छ । आश्रममा आएका भारतीय तीर्थयात्रीबाट प्राप्त भएको भेटीका आधारमा आश्रमका पण्डित तथा पूजापाठको खर्च, कर्मचारीका लागि तलब, झन्डै ४०० भन्दा धेरै गाइडको व्यवस्थापनलगायत क्षेत्रमा भेटी खर्च गरिने गरेको लेखा अधिकृत भट्टराईले बताए । आश्रमका आन्तरिक स्रोतका रुपमा रहेका दाङ जिल्लामा रहेको एक हजार ५० बिगाह जमिन तथा प्यूठानका विभिन्न क्षेत्रमा रहेका जग्गाबाट माओवादी जनयुद्धसँगै आयस्ता आउन बन्द भएको छ । आयस्ता नआउँदा आश्रमका सबै सामग्री खरिद गर्नुपर्ने भएकाले पनि आश्रममा आर्थिक अभाव सुरु भएको छ । स्वर्गद्धारीमा तीर्थयात्री घटेसँगै स्वर्गद्धारीको धरमपानी, भिगृलगायतका क्षेत्रमा रहेका व्यवसाय तथा होटलमा पनि कम कारोबार भएको व्यवसायीले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्