नेभिगेशन
अन्य

अन्ततः संविधान आउने सुनिश्चित

काठमाडौं । संविधानसभामा नयाँ संविधान निर्माणको अन्तिम प्रक्रिया सुरु भएको छ । आइतबार संविधानको धारा १, २ र ३ पारित गरिएको छ । संविधानसभाको बैठक आइतबार दुईपटक बस्यो । पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गरेपछि संविधानको परिमार्जित विधेयकमाथिको दफावार छलफल सकिएको थियो । दोस्रो बैठकमा संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो । त्यस क्रममा तीनवटा धारा नयाँ संविधानको अंग बनेका छन् । संशोधन नपरेका संविधानका धारा १ र धारा २ सर्वसम्मतिले पारित भए । धारा ३ मा भने सभासद्हरू रामकुमार राई, विश्वेन्द्र पासवान, अनुराधा थापामगर र प्रमुख तीन दलको संयुक्त संशोधन परेको थियो । चिनकाजी श्रेष्ठ, अग्नि खरेल र गिरिराजमणि पोखरेलले राखेको संयुक्त संशोधन प्रस्ताव बहुमतले पारित भएको छ । अन्य संशोधन प्रस्ताव भने अस्वीकृत भएका छन् । यसअघि संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने अन्तिम अवस्थामा अधिकांश सभासद्ले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । प्रमुख तीन दलका सभासद्ले समूहगत र व्यक्तिगत रूपमा हालेको संशोधन प्रस्तावसहित नेकपा माले, संयुक्तलगायत साना दलले आइतबार साँझ संविधानसभा भवनमै प्रस्ताव फिर्ता लिएका थिए । तर, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत केही साना दलले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका छैनन् । संविधानसभामा सोमबार बिहान ११ बजेदेखि बाँकी धारा र संशोधन प्रस्ताव क्रमशः निर्णयार्थ पेस हुनेछन् । सबै संशोधन प्रस्ताव र धारामा निर्णय लिन बढीमा दुई दिन लाग्ने संविधानसभा सचिवालयले जानकारी दिएको छ । त्यसपछि आनुसांगिक सुधार (खण्ड, धारा, उपधाराको क्रम, भाषा, व्याकरणजन्य त्रुटिहरू मिलाउने) गर्न एक दिन लाग्नेछ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्