नेभिगेशन
अन्य

ठूला तीन दल संवेदनशील नभएको मधेसी मोर्चाको गुनासो

काठमाडौं । असन्तुष्ट मधेसी दलहरूले आफूहरूसित वार्ताका लागि संवेदनशीलता नदेखाई संविधानसभामा संविधान निर्माण प्रक्रिया सुरु गरेकामा आपत्ति जनाउँदै आफ्नो आन्दोलन जारी रहने बताएका छन् । ती दलले संवादका लागि दुई दिन संविधानसभा प्रक्रिया रोकेका तीन ठूला दलले आफूहरुसित वार्ता नै नगरी आइतबार प्रक्रिया सुचारु गरेकामा ‘आफ्नो खासै सरोकार नभएको’ प्रतिक्रिया दिएका छन् । ‘प्रक्रिया फेरि थाल्नु कुनै नया कुरा भएन, यो उहाहरुको नियमित गतिविधि नै हो,’ समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले भने, ‘हाम्रा मागप्रति गम्भीरता नदेखाउन्जेल वार्ताका लागि आउने खबर केवल हल्ला हुन् ।’ मधेसी मोर्चासम्बद्ध अर्को दल तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले आफूहरुलाई वार्ताबारे कुनै थाहै नदिई तीन दलले अवधि गुजारेको भन्दै व्यंग्य गरे । ‘वार्ता हल्ला गरेर हुदैन, योजना बनाएर हुन्छ,’ उनले भने, ‘उहाहरुले जारी राख्ने सभाको प्रक्रियासग हामीलाई सरोकार छैन, हामी त आन्दोलनमै छौं ।’ जारी प्रक्रिया हेर्दा ठूला दलहरुमा जिम्मेवारीबोधको कमी देखिएको समेत असन्तुष्ट दलहरुले टिप्पणी गरे । मधेसमा परिचालित सेना फिर्ता, मृतकलाई सहिद घोषणा, मृतकका परिवार र घाइतेलाई क्षतिपूर्ति र मधेस आन्दोलनताका २०६३ मा भएको आठबुदे सहमति कार्यान्वयन नहुन्जेल वार्तामा नबस्ने मोर्चाको अडान यथावत् छ । यता विजयकुमार गच्छदार नेतृत्वको संघीय मधेसी मोर्चाले पनि प्रक्रिया फेरि सुचारु गरिएकामा आलोचना गरेको छ । फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले यो संविधानसभा प्रक्रिया दुई तिहाईको बलमा ठूला पार्टीहरुले पेलेरै लाने नियतका साथ अघि बढाएको आरोप लगाए । ‘उहाहरु सहमति समझदारी गर्ने पक्षमा हुनुहुन्न । संविधानसभामा त यो अहिले चलिरहेको आन्दोलन कुनै आन्दोलन नै होइन भनिसक्नुभयो,’ चौधरीले भने, ‘जनताको भावनालाई नजरअन्दाज गर्ने, राजनीतिक द्वन्द्व अझै बढाउने उहाहरुको अभिरुचि देखिन्छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्