नेभिगेशन
अन्य

थारुवान् संयुक्त सङ्घर्ष समितिसंग वार्ता सुरु, मधेशी नेता आउदै

काठमाडौं । प्रदेशको सीमाङ्कनलाई लिएर आन्दोलनरत् थरुहट–थारुवान संयुक्त सङ्घर्ष समिति र सरकारबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको वार्ता थरुहटको वार्ता टोलीका तीन सदस्यीय सहभागि रहेको बताइएको छ । समिति सचिवालयको शनिबार बसेको बैठकले सरकारसँग वार्ताको वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको सभासद् एवम् समितिका प्रवक्ता अमनलाल मोदीले जानकारी दिए । तीन सदस्यीय वार्ता टोलीमा थारु नेताहरु अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी रहेका छन् । ‘प्रमुख तीन दलले संविधान लेखनको प्रक्रिया रोकेर वार्ताको लागि आह्वान गर्नुलाई सकारात्मक लिँदै वार्ताको सकारात्मक वातावरण बनाउन वार्ता टोली गठन गरेका छौँ । हाम्रा सात बुँदे मागलाई कार्यान्वयनको थप प्रतिबद्धता आए वार्ता प्रक्रिया अघि बढ्छ,’– उनले भने । प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलनरत् थारु, मधेसीलगायतका समुदायलाई वार्तामा आउन आग्रह गर्दै शुक्रबार संविधानसभामा प्रस्तुत संशोधन प्रस्तावमाथिको छलफललाई दुई दिनका लागि रोक्ने निर्णय गरेका थिए । प्रमुख दलको उक्त निर्णयलाई सकारात्मक लिँदै थारु सङ्घर्ष समितिले वार्ताको वातावरणका लागि वार्ता टोली गठन गरेको छ, भने संयुक्त मधेसी मोर्चाका केही घटकहरुले सकारात्मक सम्पर्क बढाएका छन् । मोर्चाका शीर्ष नेताहरु काठमाडौँ आएका छन् । तर, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ आए पनि पार्टीको कार्यक्रमले भोजपुर गएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँ आएका छैन उनीहरु दुवै आइतबार काठमाडौँ आउने बुझिएको छ । मोर्चाका अन्य नेताहरु भने राजधानी आइसकेका छन् । यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी तमलोपाका प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले वार्ताको वातावरणका लागि अनौपचारिक कुराकानी भइरहेको बताए । उनले भने – ‘सरकारसँग औपचारिक कुराकानी भएको छैन, तर अनौपचारिक कुराकानी भइरहेको छ । हाम्रो तर्फबाट तराईमा भइरहेको पछिल्ला अराजक घटनाक्रमको समीक्षा गर्दै देशलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्नेबारे छलफल भइरहेको छ ।’ उनले उपेन्द्र यादव र राजेन्द्र महतो आइतबार राजधानी फर्किएपछि मोर्चाको तर्फबाट औपचारिक धारणा बनाएर अघि बढ्न बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्