नेभिगेशन
अन्य

“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”

काठमाडों । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् । आज बिहान रेडियो नेपालसंगको कुराकानीमा उनले प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आज बिहान ११ः३० मा बस्ने पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र त्यसपछि केही समय स्थगन भई दोस्रो बैठकदेखि प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनका अनुसार शीर्ष नेताले छलफलमा भाग लिएपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनेछ । उनले अहिलेसम्मका आन्दोलन र उपलब्धि तथा जनताको भावना समेटिएको प्रगतिशील र लोकतान्त्रिक संविधान तयार भएकाले यसलाई जारी गर्ने ऐतिहासिक चरणलाई पूरा गर्न सबैमा आग्रह पनि गरे । अध्यक्ष नेम्वाङले आजको बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने तथा यदि वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने जनाए । उनले भने– ‘हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ, यसबाट दायाँबायाँ वा पछाडि फर्कने ठाउँ छनै, अगाडि बढेर बाहिर निस्कनाको विकल्प छैन ।” रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्