नेभिगेशन
अन्य

रुकुम बिभाजनको बिरोधमा कांग्रेस जिल्ला सभापतिद्धारा राजीनामा

काठमाडौं । प्रदेशहरुको सीमांकनका क्रममा जिल्ला टुक्र्याइएको विरोधमा नेपाली कांग्रेस रुकुमका जिल्ला सभापतिसहित १५ जनाले सामुहिक राजीनामा दिएका छन् । रुकुम कांग्रेसका जिल्ला सभापति मानबहादुर नेपालीसहितका १५ जना नेताहरुले सोमबार दिउँसो पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सामूहिक राजीनामा बुझाएका हुन् । राजीनामा दिनेमा महासमिति सदस्य एवं सभासद मिठु मल्ल, पूर्व राज्यमन्त्री गोपालजीजंग शाह, पूर्वसहायक मन्त्री केशरमान रोका, महासमिति सदस्य प्रेमप्रकाश ओली लगायत छन् । कांग्रेस रुकुमका सभापति मानबहादुर नेपालीले अखण्ड रुकुमको माग सुनुवाइ नहुने भए पार्टीमा काम गर्न नसक्ने बताए । १५ जनको हस्ताक्षर रहेको राजीनामा पत्रमा भनिएको छ–‘रुकुम सिंगो हुन्छ भन्ने आश्वासन दिँदा दिँदै पनि संशोधन प्रस्तावमा कुनै शब्द नबोलेको र रुकुम दुई भागमा विभाजन हुने अवस्था रहेको हुँदा सामूहिक राजीनामा दिएको दिइएको हो ।’ सात प्रदेशको रुकुमको पश्चिम भाग प्रदेश नम्बर ६ मा र पूर्वी भाग प्रदेश नम्बर पाँचमा राखिएको छ । संविधानको विधेयकमा तीन दलले हालै दर्ता गरेको संशोधनमा रुकुमबारे आयोगले अन्तिम निर्णय गर्ने भनिएको छ । रुकुममा भने जिल्ला टुक्राउन नहुने भन्दै १७ दिनदेखि आन्दोलन भइरहेको छ । रुकुमेली जनताले सिंगो रुकुमलाई प्रदेश नम्बर ५ मा राख्न माग गरेका छन् । जिल्लामा गरिएको आन्दोलनबाट माग सुनुवाइ नभएको भन्दै काठमाडौंमा पनि दवावमूलक कार्यक्रम गरिएको थियो । अखण्ड रुकुमको पक्षमा कांग्रेस, एमाले र एमाओवादीलगायतका दलहरुका नेताहरु नै लागेका छन् । तर, एमाओवादी सभासद जनार्दन शर्मा प्रभाकर भने अखण्ड रुकुमको विपक्षमा छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्