नेभिगेशन
अन्य

काँग्रेस र एमाओवादीका शीर्ष नेतृत्वबीच छलफल

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाका बारेमा नेपाली काँग्रेस र एमाओवादीका शीर्ष नेताहरुका बीचमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा काँग्रेसका पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा तथा संविधान मस्यौदा समितिका सभापति कृष्ण सिटौला र वनमन्त्री महेश आचार्यलगायतको सहभागिता रहेको थियो । यसैगरी एमाओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, संवैधानिक राजीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठको सहभागिता रहेको थियो । बैठकपछि उपसभापति पौडेलले पछिल्लो राजनीतिक अवस्थाका बारेमा दुई दलका बीचमा छलफल भएको जानकारी दिए । भोलिदेखि सुरु हुने संविधानसभाको बैठक, संविधानको मस्यौदामाथि दलहरुले पेस गरेका संशोधन प्रस्ताव, तराई मधेस केन्द्रित दलको आन्दोलनलगायतका विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै वनमन्त्री आचार्यले दलहरुका बीचमा सहमति, सहकार्य र एकताबाट नै संविधान जारी गर्ने पक्षमा काँग्रेस रहेको बताए । आन्दोलनमा रहेका तराई मधेस केन्द्रित दलहरुका मागका बारेमा बैठकमा छलफल भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्