नेभिगेशन
अन्य

मधेशी मोर्चामा फुट, उपेन्द्र र महन्थ वार्ताका लागि काठमाडौंमा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका अध्यक्षहरुबीच आन्दोलनको विषयमा मतभिन्नता देखिएको छ । सरकारले पटक पटक वार्तामा बोलाएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर वार्ताका लागि काठमाडौं आएका छन् । तर सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई–मधेश नेपालका अध्यक्ष महेन्द्र प्रसाद यादव भने आन्दोलनको पक्षमा देखिएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले मुख्य चार दलका तर्फबाट दुईपटक वार्ताका लागि पत्रचार गरेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मधेशमा आन्दोलन जारी रहेका बेला सोमबार दिउँसो जनकपुरबाट बिमानबाट काठमाडौं फर्केका छन् भने तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रहरीको गाडिबाट राजधानी आएका छन् । यादव काठमाडौं फर्किने वितिकै विभिन्न नेताहरुसँग छलफल गरेको बताइएको छ । यादव पुनः एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सहकार्य गर्ने मुडमा रहेको बताइएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बीरगंजमा भईरहेको आन्दोलनमा छन् । उनी आन्दोलन झन् चर्काउने पक्षमा देखिएका छन् । त्यस्तै तराई–मधेश नेपालका अध्यक्ष महेन्द्र प्रसाद यादव कलैयामा छन् । उनको नेतृत्वमा विभिन्न कार्यालय तोडफोड तथा जलाइँदैछ । फोरम नेपालका अध्यक्ष यादव काठमाडौं फर्केर मोर्चाका अन्य नेताहरुलाई फोन गरी मोर्चाको बैठकका लागि काठमाडौं आउन आग्रह गर्दैछन् । तर मोर्चाका अन्य घटकहरु मधेशमै मोर्चाको बैठक बस्ने भन्दै काठमाडौंबाट फर्किन यादवलाई नै आग्रह गर्दैछन् । तर सरकारसँगको वार्ताको विषयमा मोर्चाका सबै घटक एकजुट देखिएका छन् । यसअघि भएको सहमतिहरु कार्यान्वयन नभएसम्म वार्तामा नबस्ने कुरामा मोर्चाका सबै नेताहरु अगडि देखिएका छन् । मधेशका जिल्लाहरुमा आन्दोलनको क्रममा उपेन्द्र यादवलाई संविधानसभाबाट राजीनामा दिएर आउन दबाब पर्दै आएको छ । उक्त कुरामा सद्भवाना अध्यक्ष महतोले पनि मञ्चबाटै उपेन्द्र यादवसहित मोर्चाका अन्य घटकहरुलाई संविधान सभाबाट राजीनामा दिनु पर्ने बताउँदै आएपछि यादव दबाबमा परेको हो । यादवले पार्टी भित्र राजीनामाको विषयमा छलफल गर्दासमेत उनी अल्पमतमा परेको बुझिएको छ । त्र सद्भवाना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशमा आन्दोलन चर्केको बेला सबै कुरा मधेशमै हुने बताएका छन् । महतोले मधेशी मोर्चाको बैठक वा अन्य कुनै कार्याक्रम सबै मधेशमै हुने बताए । अलि अराजक स्वभावका महतो मोर्चामा आवद्ध दलहरुसंग छलफल नै नगरि संविधानसभाबाट आफ्नो पार्टीका सदस्यहरुलाई राजीनामा गर्न लगाएर मधेश आन्दोलनमा गएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्