नेभिगेशन
अन्य

वीरगन्जमा कर्फुयका बीच बिहानै देखि प्रर्दशन, ठाँउ ठाँउमा झडप

बिरगंज । वीरगन्जको विभिन्न चोकमा आज बिहानै देखि प्रर्दशनकारी र प्रहरीबीच झडप सुरु भएको छ । सोमबार साँझ प्रहरीको गोली लागेर घाइते भएर उपचारको क्रममा २५ वर्षीय दिलीप चौरसियाको मृत्यु भएपछि आक्रोशित आन्दोलनकारीहरुले कफर््युका बीच बिहानै देखि प्रर्दशनमा उत्रेका छन् । गण्डक चोकमा प्रर्दशनकारी र प्रहरीबीच भइरहेको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर बहुअरी–६ का १७ वर्षीय दीपेश पटेल र २० वर्षीय संदिप पटेल घाइते भएका छन् । दीपेशको निधार र संदिपको ढाँडमा गोली लागेको छ । दुवै जनाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र प्रर्दशनकारीबीचको झडप उग्र बनेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको थियो । प्रशासनले लगाएको कर्फुयका बीचपनि श्रीपुरको राधेमाइटोल स्थित जिल्ला विकास समिति कार्यालय अगाडि प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली चौरसियाको पिँठयुमा लागेको थियो । गोली लागेर गम्भीर घाइते भएका चौरसियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको गोलीबाट चौरसियाको मृत्यु भएपछि गाउँगाउँबाट मंगलबार बिहानै सयौँको संख्यामा आएका आन्दोलनकारीले मुर्ली, लक्षुमणवा, गण्डक, बिर्ता्स्थित अस्पताल रोडलगायतका ठाउँमा प्रर्दशन गरेका छन्। प्रर्दशनको क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । कर्फ्यूको समयमा प्रर्दशन गरिरहेका आन्दोलनकारीलाई तितरवितर गर्न प्रहरीले अस्पताल रोड र गण्डक चोकमा टियर ग्यास र हवाइ फायर गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्