नेभिगेशन
अन्य

एमालेप्रति मधेसी आक्रामक

काठमाडौं । नयाँ संविधानको मस्यौदाप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा सुरु भएको आन्दोलनक्रममा संविधानसभाको दोस्रो ठूलो दल एमालेप्रति आन्दोलनकारी बढी आक्रामक देखिएका छन्। पार्टी कार्यालय र नेताको घर आक्रमणको निशानामा परेका छन्। प्रदेश नम्बर २ सप्तरीदेखि पर्सामा मधेसी मोर्चा र प्रदेश नम्बर ५ नवलपरासीदेखि बर्दियासम्ममा थारुवान समर्थकले सञ्चालन गरेको आन्दोलनक्रममा एमाले कार्यालय र नेताको घरमा तोडफोड भएका छन्। सप्तरी, महोत्तरी, पर्सा, बारा, नवलपरासीका पार्टी कार्यालय मात्रै नभएर नेता माधवकुमार नेपालको रौतहट गौर र केन्द्रीय सदस्य बैजनाथ चौधरीको नवलपरासीस्थित घर तोडफोड भएको छ। प्रस्तावित प्रदेश २ र प्रदेश ५ मा दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो दल बनेको थियो। नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका नेता जारी आन्दोलनमा कुनै न कुनै रूपमा जोडिए पनि एमालेले आफ्ना नेता, कार्यकर्ता र सभासदलाई कुनै प्रकारको आन्दोलनमा सहभागी नहुन निर्देशन जारी गरेको छ। उपमहासचिव घनश्याम भुसालले आन्तरिक विवादलाई थाती राखेर शान्ति र संविधान निर्माणमा पार्टी एकढिक्का भएकाले आक्रमणको निशाना बनेको बताए। ‘एमाले सबैतिर शान्ति र संविधानका लागि एकढिक्का भएर लागेको छ, त्यसैले संविधानविरोधी तत्वको निशानामा परेको हो,’ उनले भने। एमालेले लिँदै आएको अडानप्रति आन्दोलनकारीको बुझाइका कारण निशाना बनेको वीरगन्जका पत्रकार चन्द्र किशोरको बुझाइ छ। ‘एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसका नेताले एमालेकै कारण मधेसी समुदायले उठाउँदै आएको माग पूरा गर्न नसकेको भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन्,’ चन्द्र किशोरले भने, ‘एमालेले मधेसी सभासद तथा कार्यकर्तालाई आफ्ना मुद्दामा बोल्नसमेत दिएको छैन। त्यसले उनीहरुको छवि मधेसविरोधी बनाएको छ।’ अधिवक्ता दीपेन्द्र झा कांग्रेस र माओवादी आन्दोलनमा जोडिएको बताउँछन्। ‘मधेसमा जारी आन्दोलनमा एकीकृत नेकपा माओवादीका स्थानीय नेताको सहभागिता छ भने कांग्रेसका नेता त्यसप्रति सद्भाव राख्दछन्,’ झाले भने, ‘केन्द्रमा जारी आन्दोलनबारे नेताहरूले चर्को रूपमा बोल्ने र त्यही क्षेत्रबाट जितेको सभासदले आन्दोलनका पक्षमा केही नबोल्ने हुँदा एमालेप्रति जनतामा मधेसविरोधी धारणा विकास भएको छ।’ एकीकृत नेकपा माओवादीका मधेसी नेता विज्ञप्ति नै जारी गरेर आन्दोलनमा होमिएका छन्। एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराई मधेसी जनताको मनोभावनाको आधारभूत रूपमा सम्बोधन भइसकेको भन्दै एमालेलाई मधेसविरोधी रूपमा बुझ्नु खेदजनक भएको बताउँछन्। ‘एक मधेश एक प्रदेश सम्भव छैन, मधेसी जनताको भावनाअनुसार भाषा र भूगोल नटुक्र्याइकन प्रदेश २ निर्माण गरिएको छ,’ भट्टराईले भने, ‘यसमा भोजपुरा र मैथली भाषीको क्लस्टर चलाइएको छैन, उनीहरुको भूगोललाई चलाइएको छैन,’ भट्टराईले भने, ‘मधेसको माग पर्याप्त मात्रामा सम्बोधन भएको छ।’ पत्रकार चन्द्र किशोर आम जनतामा सरकार आफ्नो माग प्रति सरकार उदासिन र राम्रोसँग नसुनेको भन्दै आम बुझाइ रहेको बताउँछन्। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्