नेभिगेशन
अन्य

तीनवटा रात्रिबसमा आगजनी

गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ । बर्दिबास नगरपालिका–१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर–जलेश्वर–काठमाडौँ चल्ने ना ५ ख ४९९४, गौशाला–सम्सी–काठमाडौँ चल्ने ना ५ ख २६९४ नम्बरको बस र एउटा अनटेस्ट बस गरी तीनवटा बसमा गएराति ११ः२० बजे अज्ञात समूहले आगजनी गरी क्षति पु¥याएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए । बर्दिबासको भोला वसन्त चौकदेखि हाईवे भन्दा तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना ५ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना ५ख२६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो । बर्दिबासस्थित आफ्नो डेरामा सुतिरहेका गाडी धनी चौधरीले अचानक डेरा अगाडि आगोको मुस्लो देख्दा बाहिर आएर हेर्दा गाडी जलिरहेको पाएपछि प्रहरीलाई खबर गरेको बताए । खबरपछि तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयवासीले गाडीको आगो नियन्त्रणमा लिए पनि त्यतिबेलासम्म बस क्षतिग्रस्त भइसकेको थियो । इलाका प्रहरी कार्यालय बर्दिबासले बसमा आगजनी गर्ने समूहको खोजीका लागि गएरातिदेखि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्