नेभिगेशन
अन्य

अझै टीकापुर पुग्ने फुर्सद निस्केन गृहमन्त्री र आईजीपीलाई

काठमाडौं । कैलालीको टीकापुरमा भएको आक्रमणमा परेर ७ सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गएको तीन दिन बितिसक्दा पनि गृहमन्त्री, प्रहरी महानिरीक्षक त्यहाँ गएका छैनन् । घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहित पाँच र सशस्त्र प्रहरी बलका दुई जनाको ज्यान गएको थियो । थारू राज्यको माग राखेर आन्दोलन गरिरहेका समूहको आक्रमणमा परेर मनोबल घटेका बेला समेत उच्च अधिकारी त्यहाँ नपुग्दा सुरक्षाकर्मीहरू निराश बनेका छन् । गृहमन्त्री र महानिरीक्षकमात्र नभई क्षेत्रीय सुरक्षा प्रमुख समेत त्यहाँ निरीक्षणका लागि पुगेका छैनन् । घटनापछि फेरिएका कैलालीका प्रमुख जिल्ला अधिकारीसमेत टीकापुर पुगेका छैनन् । इलाका प्रशासन कार्यालयले त्यहाँ अहिले कर्फ्यु र निशेधाज्ञा लगायतका आदेश दिँदै आएको छ । नयाँ जिम्मेवारी दिएर पठाइएका सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख माधव नेपाल धनगढीमा नै बसेका छन् । उनी र अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्य कमान्ड सम्हाल्न त्यहाँ पुगेका छन् । यी दुवै घटनास्थल निरीक्षणमा पुगेका छैनन् । धनगढीबाट टीकापुर १ सय ८० किलोमिटर टाढा पर्छ । झन्डै ७० को संख्यामा रहेका टीकापुर इलाका प्रहरीका कर्मचारीहरू हतोत्साही भएको र बुधबार बिहान सेना परिचालन भएपछि भने केही राहतको श्वास फेरेको एक प्रहरीले बताए । ‘हाम्रो त बेहाल छ, शान्ति सुरक्षा कायम गर्ने कि आफू बाँच्ने भन्ने भएको छ,’ उनले भने, ‘सबै प्रहरी बिरक्तिएका छन् ।’ आन्दोलनमा ज्यान गुमाएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको मंगलबार भएको दाहसंस्कारमा भने गृहमन्त्री वामदेब गौतम र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहभागी थिए । एक प्रहरी अधिकृतले घटनाको भोलिपल्ट बिहानै वा एसएसपी न्यौपानेको दाहसंस्कारपछि प्रहरी प्रमुख त्यहाँ पुग्नुपर्ने बताए । ‘गृहमन्त्रीलाई लिएर अथवा एक्लै हेलिकप्टरमा घटनास्थल पुगेर आउनु पर्ने हो,’ ती अधिकृतले भने, ‘नजानुका पछाडि उहाँका आफ्नै कारण होलान् ।’ सोमबार भडकिएको आन्दोलनले ७ सुरक्षाकर्मीको ज्यान गएपछि कैलालीसहित तीन जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । स्थानीय प्रशासनको आदेशमा तत्काल सेना परिचालन हुने भनिए पनि बुधबार बिहानदेखि मात्र सेना सडकमा देखिएका छन् । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले प्रहरीका लागि कालो दिन जस्तै रहेको उक्त घटनापछि तत्काल उनीहरूको मनोबल बढाउनुपर्ने बताए । ‘गृहमन्त्री, प्रहरी महानिरीक्षक तुरुन्त जानुपर्ने हो’ उनले भने ‘३ दिन बित्दा समेत नपुग्नु भनेको सिपाही जवानको मनोबल घटाउनु हो ।’ ‘अञ्चल प्रमुख मारिएका छन् । क्षेत्रीय प्रमुखको सरुवा भयो । नयाँ सरुवा भएर पठाइएका डीआईजी घटनास्थल पुगेका छैनन्, त्यहाँ रहेका प्रहरी अधिकारीहरू अभिभावकबिनाको बेसहारा झैं भएका होलान्,’ शाहले भने, ‘गृह मन्त्रालयले तत्काल हेलिकप्टर व्यवस्था गर्न सक्छ, तर त्यो भएको देखिएन ।’ सरकारले मृतक प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तह बढुवा दिएकोमा प्रशंसा गर्दै शाहले बाँचेर घाइते भएकालाई समेत बढुवा दिनुपर्ने बताए । ‘फौजी संगठनको नियमअनुसार गम्भीर घाइते भएका कर्मचारीको वृत्ति विकासमा यस्ता घटनाले असर पुर्‍याउँछ,’ उनले भने ‘उनीहरूको साहसको प्रशंसा गर्दै बेलैमा उचित मूल्यांकन गरिनुपर्छ ।’ अर्का प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले सरकारले कैलाली घटनालाई गम्भीरताका साथ नलिएको बताए । उनले त्यत्रा प्रहरीको ज्यान जाने गरी घटना हुँदा प्रहरीको मनोबल उच्च राख्न त्यहाँ पुग्न आवश्यक भएको बताए । गृहमन्त्री र आईजीपीबाहेक राजनीतिक दलका नेता र सभासदहरू त्यहाँ गएर सद्भाव छर्ने काम गर्नुपर्ने उनको भनाइ छ । कांग्रेस सभासद रामचन्द्र पोखरेलले बुधबार संविधानसभामा बोल्दै घटनास्थलमा कम्तीमा गृहमन्त्री जानुपर्नेमा त्यसो हुन नसकेको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्