नेभिगेशन
अन्य

कैलालीमा लुटिएको एउटा कोपिला

काठमाडौं । डेढ वर्षीय बालक टेकबहादुर बुबा नेत्र साउदसहितका आफन्त भएतिर निस्किए। फुरुंग हुँदै राम्ररी तंग्रिनसकेका खुट्टाले यताउता दौडँदै खेल्दै थिए। ड्याम्म बन्दुक पड्केको आवाज आयो। छोराको दिसा पखालेर कट्टु लिन घरभित्र पसेकी आमा यशोदा हत्तपत्त बाहिर आइन्। ‘गोली चलेको सुनेपछि अरू घरभित्र पस्दै थिए, म छोरा खोज्न बाहिर निस्केँ,’ गला अवरुद्ध पार्दै यशोदाले सुनाइन्, ‘छेउमा श्रीमान्लाई राम्रै देखेँ तर बाबु रगतमा लतपतिएको थियो।’ छोरालाई देखेपछि उनी त्यहीँ ढलिन्। केही छिनअघि सुरक्षाकर्मीमाथि आक्रमण भएकाले आफन्तजन १४–१५ जना आँगनमा बसेर त्यहीबारे कुरा गर्दै थिए। गोली चलेपछि भने भागाभाग भयो। टेकबहादुर राम्ररी हिँड्नसम्म नसक्ने बालकको निधारमा गोली लाग्यो। ‘निधारमै गोली लागेकाले उसले रुनसम्म भ्याएनछ,’ यशोदाले भनिन्। छोरा गुमेदेखि उनले खाना खाएकी छैनन्। ‘मुनाजस्तो छोरो खोसियो,’ उनी भन्छिन्, ‘म कसरी बिर्सन सक्छु ?’ रक्ताम्मे हुने गरी छोरालाई गोली हानिएको घरमा बस्न नसकेर उनी टीकापुर–९ स्थित माइतीघर पुगेकी छन्। ‘दुब्लो थियो तर फूर्तिलो र ज्ञानी,’ उनले सम्भिmकइन्, खानेकुरा हात पर्दा दिदी–बहिनी सबैलाई बाँडेर मात्रै खाने गर्थ्यो।’ सोमबार बिहान ढिलो उठेको थियो। बिहान चिया र रोटी खायो, दिउँसो दाल–भात। खाना थोरै खान्थ्यो। ‘२० मिटर पर पर्खाल छ, पर्खालको छेउबाट ताकेरै थरुहट आन्दोलनकारीले गोली हाने, गोली निधारमा लागेपछि छोरो ढल्यो,’ बाबु प्रहरी हवलदार नेत्र साउदले भने । एसएसपी लक्ष्मण न्यौपानेसहितका सात प्रहरीको हत्या गरेको करिब एक घन्टापछि थरुहट आन्दोलनकारीले टेकबहादुरलाई गोली हानेका थिए। झाडीमा लुकेर बसेका ४–५ जना थरुहट समर्थक सशस्त्र आन्दोलनकारीले अबोध बालकलाई निशाना बनाएको नेत्रले बताए। कार्यालयको कामले बैंक गएका उनले प्रहरी–प्रदर्शनकारी झडपको समाचार बैंकमै सुनेका थिए। ‘भिड तितरबितर भइसकेको थियो, घरभन्दा करिब ५०–१०० मिटर दुरीमा एसएसपी न्यौपानेलगायत प्रहरीको शव देखिन्थ्यो,’ उनले भने, ‘घटनास्थल सुनसान थियो।’ आफन्तसहित उनी आँगनमा कुरा गर्दै थिए, उनको फोन निरन्तर बजिरहेको थियो। मारिएका प्रहरी अधिकारीको पेस्तोल खोसेर प्रदर्शनकारीले योजनामुताविक अबोध छोरालाई गोली हानेको उनको ठम्याइ छ। नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्