नेभिगेशन
अन्य

कैलालीसहित तराईका केही जिल्ला तनाव कायमै

काठमाडौं । कैलालीको टिकापुर लगायतका क्षेत्र आज पनि बिहानैदेखि अशान्त भएका छन्। टिकापुर क्षेत्रमा थप हिंसात्मक कार्य हुन नदिन स्थानीय प्रशासनले ७ गतेदेखि घोषणा गरेको दंगाग्रस्त क्षेत्रलाई आज पनि निरन्तरता दिएको छ। यसैबीच अखण्ड पक्षधरले टिकापुर अस्पताल चोकमा रहेको अञ्जु बोबाइल ग्यालरीमा तोडफोड गर्न लाग्दा प्रहरीले प्रतिकार गरेको छ। सामान्य बल प्रयोग गरी भीडलाई तितरबितर बनाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै धनुषाको ढल्केबर चोकहुँदै प्रहरीले स्कर्टिङ गरी लैजादै गरेको बसलाई आन्दोलनकारीले ढुंगा प्रहार गर्दा ना ५ ख ४२६ नम्बरको बसमा रहेका एक यात्री घाइते भएका छन्। उनको उपचारको लागि काठमाडौं ल्याइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यस्तै बाँकेको कोहलपुरमा अन्दाजी ७ सयको संख्यामा निस्किएका आन्दोलनकारीको जुलुसले हातमा रड भाला र लाठी लिई प्रदर्शन गरेका छन्। शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय निकायले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। यस्तै रौतहटको गौरस्थित कविर चौकमा प्रहरी र प्रदर्शनकारी बीच फेरि झडप भएको छ। अन्दाजी तीन सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको मन्त्रालयले जनाएको छ। यसअघि स्थानीय राजकिशोर ठाकुरको गोली लागि मृत्यु भएको थियो। यसैबीच आन्दोलनकारीले रौतहटको मठिया प्रहरी चौकीमा आगजनी गरेका छन्। यस्तै महोत्तरीको जनताको तटबन्ध कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। बन्दकर्ताले सेवाग्राहीको रूपमा कार्यालयमा प्रवेश गरी ३ थान कुर्सी, एक थान कम्प्युटरमा क्षति पुर्‍याएका छन्। यस्तै जलेश्वरको छिमेकी बैंकमा ४÷५ जना बन्दकर्ता प्रवेश गरी कार्यालयको कम्प्युटर क्याल्कुलेटरमा क्षति पुर्‍याएको गृहमन्त्रालयले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्