नेभिगेशन
अन्य

कांग्रेस नेताद्वारा संविधानसभा स्थगित गर्न माग

काठमाडौं । टीकापुर घटनाले देशमा द्वन्द्व बढाउने खतरा रहेको भन्दै कांग्रेस नेताहरूले संविधानसभा केही समयका लागि स्थगित गरी प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सरोकारवालाहरूसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसी र शेखर कोइरालाले जातीय सद्भाव बिग्रने खतरा रहेको बताउँदै बुधबारदेखि सुरु हुने संविधानसभा केही दिनका लागि स्थगित गर्न माग गरेका हुन् । उनीहरूले संविधानसभा स्थगित गरी फोरम लोकतान्त्रिकसहित थरुहट आन्दोलनका अगुवाहरू र मधेस केन्द्रित दलहरूसँग वार्ता गर्नुपर्नेमा जोड दिएका हुन् । ‘संविधानले समाधान दिने हो, समस्या ल्याउने होइन, तर अहिले समस्या ल्याउने काम भएको छ,’ केसीले भने, ‘थारू र पहाडीबीचको सद्भाव बिग्रियो भने मुलुक द्वन्द्वमा जान्छ । संविधान निर्माणको प्रक्रिया केही दिनका लागि रोकेर भए पनि यसलाई मिलाउनेतर्फ नेतृत्व तह लाग्नुपर्छ ।’ कोइरालाले देशमा आगो बलिरहेका बेला संविधानसभामा सैद्धान्तिक छलफल सुरु गर्नु गलत हुने भन्दै केही समय स्थगित गर्न माग गरे । ‘टीकापुर घटनाले मुलुकलाई द्वन्द्वतिर लैजाने खतरा छ ।यसलाई अघि बढ्न नदिई सामाजिक सद्भाव कायम राख्न तत्काल नेतृत्वले वार्ता गर्नुपर्छ,’ कोइरालाले भने, ‘त्यसका लागि केही समय संविधानसभा प्रक्रिया स्थगित गर्नुपर्छ ।’ उनले संविधानको प्रक्रिया स्थगित गरेर बिनासर्त वार्तामा बस्न आहवान गर्नुपर्ने बताए । ‘वार्ता नगरी हामीले संविधानको प्रक्रिया अघि बढाउनु गलत हुन्छ,’ कोइरालाले भने, ‘यसले झनै द्वन्द्व बढाउने काम गर्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्