नेभिगेशन
अन्य

गोरखा दरबारको मर्मत सकियो, दर्शकका लागि खुल्ला

गोरखाबजार । विनाशकारी भूकम्पले क्षति पुगेको ऐतिहासिक गोरखा दरबारस्थित गोरखकाली मन्दिर भक्तजनका लागि आजदेखि खुल्ला गरिएको छ । सुरक्षाको अवस्था देखाउँदै यसअघि दरबार हेरचाह अड्डाले सूचना जारी गरेर भक्तजनलाई दरबार क्षेत्र प्रवेश गर्न रोक लगाएको थियो । भूकम्पले भत्काएको गोरखनाथ मन्दिर, कालिकाको मन्दिर, गोरखा दरबार, पर्खाल मर्मत गरेपछि नियमित पूजाका लागि खुल्ला गरिएको दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले जानकारी दिए । ‘पुरातत्व विभागले पठाएको रु २५ लाखले पहिलो चरणको मर्मत गरियो’ भट्टराईले भने, ‘गोरखकाली मन्दिरमा बलि पूजा र गोरखनाथ मन्दिरमा पूजाआजाका लागि खुल्ला गरिएको हो ।’ भूकम्पले गोरखा दरबारको झिँगटी, पर्खाल, टुँडाल, गोरखनाथ गुफा मन्दिरका साथै रोट पोल्ने ठाउँ, पशुपति, गुहृेश्वरीको मन्दिरमा क्षति पुगेको थियो । ‘दरबार क्षेत्र मर्मतका लागि करोडौँ बजेट आवश्यक पर्छ’ भट्टराईले भने, ‘गोरखा दरबारको आँगन करिब तीन इन्च तल धसिएको छ ।’ दरबार क्षेत्रभित्र रहेको चौघेरा मन्दिरको मर्मत गरिएको छैन । साथै चौघेरा दरबार नजिकै रहेको गणेशको मन्दिर पनि पुनःनिर्माण गर्न बाँकी रहेको भट्टराईले बताए । कालीकाको मन्दिरमा दिनहुँ ३०० भन्दा बढी भक्तजन पूजाआजाका लागि आउने गर्छन् । प्रत्येक अष्टमीमा भक्तजनको भीड लाग्ने गोरखकाली मन्दिरमा केही वर्षअघिदेखि दिनहुँजसो बलि पूजा हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्