नेभिगेशन
अन्य

मस्यौदा समितिको परिमार्जित विधेयक संविधानसभामा

काठमाडौं । संविधान मस्यौदा समितिले संविधानको परिमार्जित विधेयक शुक्रबार राति सभाध्यक्षलाई बुझाएको छ। समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा तयार गरिएको एकीकृत मस्यौदा आज बेलुकी सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएका हुन्। समितिको आजको बैठकले दलको सहमतिका आधारमा प्रदेशको सङ्ख्या सात रहने विषयलाई मस्यौदामा समावेश गरेको थियो। मस्यौदा समिति मातहतको कार्यदलले यसअघिका सबै सहमतिका विषयलाई समावेश गरेर प्रतिवेदन तयार पारिसकेको अवस्थामा दलबीच पछिल्लो पटक भएको सहमतिलाई थप गरेर मस्यौदालाई परिस्कृत गरिएको हो। परिमार्जित विधेयक बुझ्दै सभाध्यक्ष नेम्वाङले अब संविधान बन्ने ठोस र अन्तिम आधार तयार भएको बताए। ‘अब संविधान बन्यो, त्यसको ठोस र अन्तिम आधार समितिले बुझाएको अन्तिम परिमार्जित विधेयक हो, परिमार्जित विधेयकलाई आइतबारदेखि बस्ने संविधानसभा बैठकमा प्रस्तुत गरिनेछ, आइतबार सबै सभासद् र सञ्चारकर्मीको हातमा पुर्‍याइनेछ,’–उनले भने। अध्यक्ष नेम्वाङले जस्तोसुकै अप्ठ्यारा आइपरे पनि संविधानसभामार्फत जनताको चाहनाअनुरुप संविधान बनाउँछौ भन्ने कुरा फेरि एक पटक प्रमाणित भएको उल्लेख गरे। उनले मस्यौदाका कतिपय विषयमा दलहरुले फरक मत राखेर हिँडे पनि यसले अधिकतम जनताको भावना समेटेको र संविधान जारी हुने अन्तिम समयसम्म बढीभन्दा बढी जनताको भावनालाई समेट्ने प्रयास गरिने हुनाले संविधान निर्माण प्रक्रियामा एक जुट हुन असन्तुष्ट पक्षलाई आग्रह गरे। ‘नेपालको संवैधानिक इतिहासमा जनताको सहभागिताद्वारा सबैभन्दा बढीको भावना समेटिएको संविधान बनाउने अन्तिम घडी आइपुगेको छ र संविधान जारी गरिने आधार तयार भएको छ’– उनले भने। मस्यौदा समितिका सभापति सिटौलाले संविधानसभाले दिएको पहिलो समयावधिमा सहमति जुट्न नसकेपछि पुनः समय थप मागी मेहनतका साथ मस्यौदालाई पूर्णता दिइएको बताए। उनले नेपालको संविधान निर्माण गर्ने कार्य निकै लामो र जटिल प्रक्रिया भएको र सबै दल, सभासद् र राजनीतिक समझदारीले यो अवस्था आएको हो भन्दै संविधानमा सबै दलको भावनालाई समेट्ने अधिकतम प्रयास गरिएकाले यसप्रति असन्तुष्ट जनाउने दललाई संविधान जारी गर्ने कार्यमा सक्रियता जनाउन आग्रह गरे।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्