नेभिगेशन
अन्य

प्रमुख दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । संविधान लेखनमा देखिएका विवादित विषयमा सहमति जुटाउनका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आज बिहान बस्दैछ । मत प्रतिशत सीमा, धर्म र सीमा निर्धारणका विषयमा मुलुकका विभिन्न स्थानमा देखिएको असन्तुष्टिलाई कसरी सम्बोधन गर्ने र संवैधानिक अङ्गका पदाधिकारीको नियुक्ति पुनः गर्ने कि नगर्ने भन्ने विषयमा हिजो साँझ अबेरसम्म छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेपछि शीर्ष नेताहरुको बैठक अहिले फेरि बस्न लागेको हो । प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समितिका संयोजक डा बाबुराम भट्टराईले विवादित विषयमा सहमति जुटाउन अन्तिम प्रयत्न भए पनि आजको बैठकमा विशेष कारणवश प्रधानमन्त्री उपस्थित हुन नसक्नु भएका कारण आज बिहान बैठक बसेर अन्तिम निर्णय गर्ने जानकारी दिए । उनले विहिवार भएको छलफलको जानकारी नेपाली काँग्रेसका प्रतिनिधिले प्रधानमन्त्रीलाई गराउने र शुक्रबार बिहान विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गरे । बैठकमा सहभागी नेताले समस्या समाधानका लागि प्रधानमन्त्रीले नै विशेष पहल गर्नुपर्ने र मस्यौदा समितिलाई अन्तिम निर्णय गर्न बाटो खोलिदिनुपर्नेमा जोड दिएको भट्टराईको भनाई थियो । सहमति नभएका खण्डमा मस्यौदा समितिलाई कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत बाटो खोल्नुपर्ने विषयमा छलफल भएको बताइएको छ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रदेशको सीमाङ्कनको विषयमा छिटोभन्दा छिटो निर्णय गर्नुपर्ने विषयमा छलफल भएको बताउँदै आपसी परामर्श गरेर अगाडि जाने निर्णय भएको जानकारी दिए । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विवादित विषयमा सहमति जुटाउने प्रयास भए पनि आज निष्कर्ष निस्कन नसकेको बताए । गत असार २३ गते प्रमुख दलका शीर्ष नेताले छ प्रदेशको सीमाङ्कनसहितको सङ्घीय प्रदेशको खाका सार्वजनिक गरेपछि मध्यपश्चिम, कर्णाली र तराई–मधेसका विभिन्न जिल्लामा स्थानीयवासीले असन्तुष्टि सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेता सहमत भए पनि कसरी निष्कर्ष निकाल्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन । मस्यौदा समितिलाई अन्ति मस्यौदा तयार पार्नेका लागि संविधानसभाले दिएको दोश्रो पटकको समय आज सकिदैछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्