नेभिगेशन
अन्य

विशेष समितिको निर्णय कुर्दै मस्यौदा समिति

काठमाडौं । सीमांकन पुनरावलोकनसहित टुंगो लाग्न बाँकी बाहेकका विषयमा संविधान विधेयक तयार भएको छ । जनताको सुझाव ग्रहणका विषयमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको निर्णय र संविधानसभाका निर्णयअनुरूपका विषयलाई बिहीबार मस्यौदा समितिले विधेयकको रूप दिएको हो । तर संघीयतासहितका विवादित विषयमा प्रमुख दलका शीर्ष नेताहरू सम्मिलित विशेष समितिले निर्णय गर्न गरेको विलम्बका कारण बिहीबार उक्त विधेयक सभाध्यक्षसमक्ष पेस हुन सकेन । मस्यौदा समितिले संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गरी विधेयक निर्माणका लागि दोस्रोपटक प्राप्त गरेको समय सीमा शुक्रबार सकिँदै छ । यसअघि संविधानसभाबाट प्राप्त पाँच दिनको समय सीमा पनि संघीयतासहितका बाँकी विवादित विषयमा शीर्ष नेताहरूको निर्णय कुर्दाकुर्दै व्यर्थ भएको थियो । धर्म निरपेक्षता, थ्रेसहोल्ड, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायतका विषयमा सहमतिको नजिक भए पनि शीर्ष नेताहरूबीच ६ प्रदेशको सीमांकन पुनरावलोकनका विषयमा ठोस सहमति हुन सकेको छैन । ‘समितिले शुक्रबारसम्म विधेयक पेस गर्ने जानकारी संविधानसभा अध्यक्षलाई गराइसकेको छ,’ संविधानसभा सचिवालय स्रोतले भन्यो, ‘विधेयक पेस गर्ने अन्तिम समयसम्म पनि शीर्ष नेताहरूले सहमति गरेमा त्यसलाई समावेश गर्न सकिन्छ । त्यसो हुन नसकेमा संविधान विधेयकमा सभासदले राख्ने संशोधनबाट विशेष समितिको निर्णय प्रक्रियामा प्रवेश गराउने विकल्प बाँकी रहन्छ ।’ कान्तिुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्