नेभिगेशन
अन्य

५० लाख घोषणा गर्ने मधेसी नेताको बैंक खाता रोक्न माग

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस र थरुहट आन्दोलनमा लागेर मृत्यु हुने परिवारलाई ५० लाख रुपैयाँ दिने भने गरेको निर्णयले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । सभासदहरुले यो घोषणा अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले पनि गर्न नसक्नेखालको अपराधिक भएको भन्दै तत्काल यसबारे सरकारले कारवाही चाल्नुपर्ने माग गरेका छन् । व्यवस्थापिका संसदको विहीबारको बैठकमा बोल्दै एमाओवादी सभासद जनकराज जोशीले यस्तो घोषणा गर्ने दलका नेताहरुको बैंक खाता रोक्का हुनुपर्ने बताए । पूर्वसचिव समेत रहेका जोशीले भने –‘यो मुद्रा निर्मलीकरण (मनी लाउन्डरिङ)सँग गाँसिएको विषय पनि हो, उनीहरुलाई यस्तो पैसा कहाँबाट आउँछ, यस्ता राजनीतिक दलका नेताहरुको बैंक खाता बन्द गर्नेतर्फ सोच बनाउनुपर्छ ।’ आन्दोलनमा आउ, मरेवापत पैसा दिन्छौं भन्ने घोषणा बोकोहराम, अलकाइदा र तालिवानजस्ता आतंकवादी संगठनहरुले पनि सोच्न नसक्ने विषय भएको उनले बताए । संविधानसभामा रहेका दलहरुले लिखित आह्वान गर्नु आपत्तिजनक रहेको जोशीले बताए । नेपाली कांग्रेसका सभासद रोमी गौचनले आन्दोलनमा लागेर मरेबापत पैसा दिन्छु भन्ने मधेसवादी दलका नेताहरुको सम्पत्तिको स्रोत छानविन हुनुपर्ने बताए । संविधान र कानुनले नदिएको अधिकार मधेसवादी दलहरुले प्रयोग गरेको भन्दै उनले कारवाहीको माग गरे । एमाले सभासद ऋषिकेष पोखरेलले आफूलाई तराई मधेसको ठेकेदार ठान्ने केही मधेसवादी दलका नेताले गरीव मधेसीको जीवनको मूल्य तोकेर राज्यलाई चुनौति दिएको बताए । तराईबाटै चुनाव जितेका सभासद पोखरेलले भने ‘सयौं बर्षदेखि अन्यायमा परेका तराईका जनताको जीवनको मूल्य तोक्ने यी ठेकेदारहरु विरुद्ध संसदले खेद प्रस्ताव पारित गर्नुपर्छ ।’ सरकारले प्रष्टरुपमा जनताले बुझ्ने गरी उनीहरुमाथि कारवाहीको जानकारी गर्नुपर्ने पोखरेलले बताए । शून्य समयमा बोल्दै एमाले सभासद शान्ता मानवीले पनि जनतालाई आन्दोलनमा लागेवापत उनीहरुको जीवनको मूल्य तोक्नेहरु विरुद्ध संसदबाट खेद प्रस्ताव पारित गर्नुपर्ने माग गरिन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्