नेभिगेशन
अन्य

संविधान नचाहनेले आन्दोलनलाई भड्काएको– नेता पौडेल

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधान नचाहनेले आन्दोलनलाई भड्काएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा युवा नेता पौडेलले प्रधानमन्त्री सुशील कोइरालाको अडानकै कारण सीमाङ्कनसहितको संविधान आउन लागेको बताए । सीमाङ्कनमा केही त्रुटि रहेको बताउँदै उहाँले ६ प्रदेशसहितको सङ्घीय संरचनामा केही सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । सङ्घीय मुलुकको संविधान सीमाङ्कन बिना सम्भव नहुने भएकाले नेपाली काँग्रेस सीमाङ्कनसहितको संविधान दिन चाहेकाले प्रारम्भिक खाकामा सुझाव दिन आग्रह गर्दै नेता पौडेलले आन्दोलनलाई उग्रता दिने काम राम्रो नभएको बताए । नेपाली जनताले सङ्घीयतासहितको संविधान चाहेकाले खाका आउँदाआउँदै उग्र रुपमा विरोध गर्नुभन्दा पनि संयम बनेर सुझाव सल्लाह दिनु उचित हुने उनको धारणा छ । सीमाङ्कनमा चित्त नबुझेकाले त्यसमा फरक मत राख्नु स्वाभाविक नै भएको बताउँदै संविधान नचाहनेले फरक मतलाई उचालेर आन्दोलनलाई भड्काउने काम गरेको उनको भनाइ छ । जनताले उठाएका स्वभाविक विषयवस्तुलाई सरकार र संविधानसभाले सम्बोधन गर्नुपर्ने बताउँदै नेता पौडेलले स्वभाविकभन्दा पनि अस्वभाविक कुरा बढी आएको उल्लेख गरे । उनले भने–‘लोकतन्त्रको मूल्यमान्यतालाई प्रहार नहुने गरी संविधान आउँछ भने त्यसलाई सबैले स्वीकार्नुपर्छ ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्