नेभिगेशन
अन्य

कांग्रेस नेतृ मैयादेवीबाट ७२ करोडभन्दा बढीको सहयोग

चितवन । पूर्व सांसद मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको घर र नगद रु दुई करोड मैयादेवी ट्रष्टलाई हस्तान्तरण गरेकी छन् । श्रेष्ठ बस्दै आएको भरतपुर उपमहानगरपालिका–३ मा रहेको करिब रु आठ करोड पर्ने घर र नगद रु दुई करोड गरी १० करोडको सम्पत्ति आज यहॉ आयोजित एक समारोहबीच उहाँले ट्रष्टलाई हस्तान्तरण गरेकी हुन् । शिक्षा मन्त्री चित्रलेखा यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा श्रेष्ठले घरको लालपुर्जा र चेक ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठलाई हस्तान्तरण गरेकी हुन् । सो अवसरमा उनले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि भरतपुरमा जग्गा दिने घोषणा पनि गरेकी छन् । श्रेष्ठले हालसम्म यसका अतिरिक्त विभिन्न सङ्घ संस्था र व्यक्तिलाई गरी रु ६२ करोडभन्दा बढीको भूमिदान एवम् सहयोग गरी सकेको सो अवसरमा जानकारी गराइएको थियो । श्रेष्ठले रु १० करोड खर्च गरी मैयादेवी कन्या कलेज निर्माण गरिदिएकी छन् । त्यसैगरी, नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, जिल्ला कार्यालय चितवन, भरतपुर–३ को नेपाली काँग्रेसको वडा कार्यालयका लागि भवन निर्माण गर्न समेत जग्गा दान गरेकी छन् । त्यसैगरी, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत गरी रु छ करोड ५० लाख बराबरको जग्गादान गरेकको ट्रष्टका महासचिव टङ्कनाथ पौडेलले बताए । श्रेष्ठले आफ्नो आश्रममा रहेका र आफूले पालेका विभिन्न परिवारलाई रु ३३ करोड ५७ लाखको भूमिदान गरिसकेकी छन् । उनले सामाजिक एवम् धार्मिक सङ्घसंस्था, पाटीपौवा, धर्मशालामा करिब रु १२ करोड सहयोग गरेकी छन् । विदेश भ्रमणका क्रममा बेलायत, अमेरिका, थाइल्यान्ड, भारतलगायतका सहरमा रु २२ लाख बराबरको सहयोग गरेको उनले बताइन् । ट्रष्टलाई घरजग्गा र नगद हस्तान्तरण गर्दै उनले आफ्नो नाममा रहेका बाँकी जग्गा, धनसम्पत्ति एवम् गरगहनासमेत सामाजिक क्षेत्रमा दान गर्ने बताइन् । ८७ वर्षिया श्रेष्ठले पछिल्लो समय आफ्नो स्वास्थ्य बिग्रदै गएपछि बाँकी रहेको सम्पत्ति संस्थागत रुपमा सामाजिक क्षेत्रमा सहयोग पु¥याउन आफ्ना नाममा ट्रष्ट खोलेर हस्तान्तरण गरेको बताइन् । सो अवसरमा शिक्षामन्त्री यादवले स्वभाव र चरित्र कमजोर भएकाले दानशील हुन नसक्ने भन्दै उहाँको व्याक्तित्वका बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले स्व गिरीजाप्रसाद कोइरालाले समेत चर्चा गर्ने एकमात्र व्यक्तित्व श्रेष्ठले सामाजिक सेवामार्फत विकासमा लागेको भन्दै उनको उच्च सम्मान गरिन् । ट्रष्टका अध्यक्ष प्रेमकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ, संविधानसभा सदस्य रामकृष्ण घिमिरे, गीता वाग्ले, सावित्री चौधरी, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, ट्रष्टका सल्लाहकार प्रभातकुमार जोशी, उपाध्यक्ष सिद्धकुमार श्रेष्ठ तथा सदस्य ज्ञानेन्द्रविक्रम महतलगायतले बोलेका थिए । ट्रष्टले घर बहालको रकम र ब्याजबाट सामाजिक क्षेत्रमा काम गर्ने जनाएको छ । विसं १९८५ असोज ५ गते जन्मेकी श्रेष्ठले २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसमा प्रवेश गरी राजनीतिक र सामाजिक कामको थालनी गरेकी हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्