नेभिगेशन
अन्य

सोमवार एकैदिन चार सय कर्मचारीको सरूवा

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले साउनमा एक हजार एक सय ५१ जना कर्मचारीको सरुवा गरेको छ । सोमबार राति झन्डै ९ बजे एकैपटक चार सय कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले साउनमा कार्यालय सहयोगीदेखि उपसचिवस्तरका एक हजार एक सय ५१ जना कर्मचारीको सरुवा गरेको हो । उपसचिवस्तरका ७५ तथा शाखा अधिकृतस्तरका एक सय ३२ कर्मचारीको सरुवा गरिएको छ । नायब सुब्बा तहका तीन सय २४, खरिदार तहका चार सय एक र कार्यालय सहयोगी तथा हलुका सवारीचालक तहका गरी दुई सय १९ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । निजामती सेवा ऐनअनुसार सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष साउनमा अन्तरमन्त्रालयस्तरमा कर्मचारी सरुवा गर्ने गर्छ । मन्त्रालयका कर्मचारीका अनुसार कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव रूपनारायण भट्टराई सोमबार बिहानदेखि राति अबेरसम्म व्यस्त थिए । स्रोतका अनुसार मन्त्रालयको कर्मचारी प्रशासन शाखाका सबै कर्मचारी सहसचिव भट्टराईकै कार्यकक्षमा थिए । सरुवा मापदण्ड बनाए पनि सोर्सफोर्सका आधारमा कर्मचारी सरुवा भएको सामान्यकै केही कर्मचारीको आरोप छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका स्वकीय सचिव ओसिम आलमले भने सरुवा विगतमा भन्दा पारदर्शी र विवादरहित भएको दाबी गरे । ‘मन्त्रीज्यूकै निर्देशनअनुसार मापदण्डका आधारमा सरुवा भएको छ,’ आलमले भने । गलत किसिमको सरुवा भए देखाउन उनले चुनौती दिए । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्