नेभिगेशन
अन्य

विद्युत् प्राधिकरणको घाटा २६ अर्ब, माग बढेर विद्युत् सङ्कट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आव २०७१/७२ मा रु छ अर्ब ५१ करोड ४० हजार घाटा बेहोरेको छ । प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्मको घाटा रु २६ अर्ब ७९ करोड ८६ लाख २० रहेको छ । चार वर्षअघि रु २७ अर्ब घाटामा रहेको प्राधिकरणलाई सरकारले अपलेखन गरेको थियो । चरम विद्युत् अभाव, विद्युत् चुहावट तथा प्राविधिक समस्याका कारण प्राधिकरणको घाटा बढ्दै गएको हो । भारतबाट आयात गरिएको विद्युत् खरिदको मूल्य र प्राधिकरणले वितरण गर्ने मूल्यको सन्तुलन मिल्न नसक्दा पनि प्राधिकरण घाटामा गएको हो । प्राधिकरणले आव २०७१÷७२ मा खुद आम्दानी भने रु ३० अर्ब ४८ करोड ३४ लाख ६० हजार गरेको छ । अत्यधिक विद्युत् चुहावट नियन्त्रणमा बेवास्ता गरिनु, संस्थागत सुधारमा ध्यान नदिइनु तथा सस्तोमा विद्युत् किनेर महँगोमा बेच्नु, लामो समयदेखि विद्युत् महसुल नबढ्नु आदि कारणले घाटा बढेको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । प्रत्येक वर्ष एक सय मेगावाटको दरमा विद्युत् माग बढ्दै गएको छ । मागअनुसार आपूर्ति हुन नसक्दा विद्युत् भार कटौती बढ्दै जाने देखिएको छ । हाल मुलुकको एक हजार २९१ मेगावाट विद्युत्को माग रहेको छ । तर प्राधिकरणले ७०६ मेगावाट उत्पादन गरिरहेको छ । निजी क्षेत्रले १२४ मेगावाट उत्पादन गर्दै आएको छ । भारतबाट २२४ मेगावाट विद्युत् आयात गरिएको छ । कुल एक हजार १५४ मेगावाट आपूर्ति भएकामा एक हजार २९१ मेगावाट माग हुँदा विद्युत् भार कटौती गर्न बाध्य भएको कार्यकारी निर्देशक काफ्लेको भनाइ छ । कुल उत्पादित विद्युत्मध्ये २४।४४ प्रतिशत चुहावट हुने गरेको छ । अघिल्लो आवमा २४।६४ प्रतिशत कुल चुुहावट रहेको भए पनि आव २०७१/७२ मा ०.२० प्रतिशतमात्रै चुहावट नियन्त्रण गर्न सम्भव भएको छ । विद्युत् चुहावटलाई उल्लेख्य रुपमा घटाउन चुहावट नियन्त्रण विशेष अभियान चलाइने भनिए पनि अभियान प्रभावकारी हुन सकेको छैन । प्राधिकरणका अनुसार आव २०७१/७२ मा कुल ग्राहक सङ्ख्या ५.७५ प्रतिशतले वृद्धि भई २८ लाख ७० हजार पुगेको छ । त्यसमा सङ्ख्याका आधारमा गार्हस्थ्य, औद्योगिक र अन्य उपभोक्ता वर्गको हिस्सा क्रमशः ९४.३४ प्रतिशत, १.४८ प्रतिशत र ४.१८ प्रतिशत रहेको छ । खपतका आधारमा क्रमशः ४४.७८ प्रतिशत, ३६.३१ प्रतिशत र १८.९२ प्रतिशत रहेको छ । हरेक वर्ष बढ्दै जाने ग्राहकको सङ्ख्यालाई सम्बोधन गर्नेतर्फ ध्यान नदिइएका कारण माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन । गत हिउँदमा विद्युत् भार कटौती १० घन्टामा सीमित गरिएको भए पनि आगामी हिउँदमा १३ घन्टा पुग्ने प्रक्षेपण गरिएको छ । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ का कारण भोटेकोसी र निजी क्षेत्रका अन्य आयोजना र केही दिन पहिलेको बाढी पहिरोका कारण माथिल्लो मोदी क्षतिग्रस्त भएर कुल एक सय मेगावाट विद्युत् केन्द्रीय प्रसारण ल्याउन सकेको छैन । चालु आवमा कुनै अवरोध नभएमा कुल १४० मेगावाट विद्युत् थप हुने अनुमान गरिएको छ । निजी क्षेत्रले निर्माण गरिरहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ चालु आवमा सम्पन्न हुनेछ । अन्य केही साना र मझौला आयोजना पनि चालु आवमै सम्पन्न हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले नै निर्माण गरिरहेको चमेलिया ३० मेगावाट, १४ मेगावाटको कुलेखानी तेस्रो जोड बल गरिए पूरा हुने सम्भावना रहेको छ । भूकम्पका कारण माथिल्लो त्रिशूली थ्री ‘ए’ भने पूरा हुने सम्भावना कम रहेको छ । यस्तै, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको १४.६ मेगावाटको माथिल्लो साञ्जेन, ४२।५ मेगावाटको साञ्जेन, १११ मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्य भोटेकोसी पनि निर्माणका क्रममा रहेको छ तर ती आयोजना तत्कालै सम्पन्न हुने देखिँदैन । प्राधिकरणले अगाडि बढाएका कुल ४० वटा प्रसारण लाइनमध्ये प्रगतिको चरणमा रहेको एउटै मात्र परियोजना रहेको छ । विगत १५ वर्षदेखि चर्चामा रहेको खिम्ती ढल्केबर प्रसारण लाइन सिन्धुलीमा भएको अवरोधका कारण अगाडि बढ्न सकेको छैन । पूर्व पश्चिमका कुनै पनि प्रसारण लाइनको कार्यप्रगति सन्तोषजनक छैन । निजी क्षेत्रले निर्माण गरेको माईखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनको अभावमा केन्द्रीय प्रसारणमा जोड्न सकिएको छैन । यसका कारण २२ मेगावाट विद्युत् खेर गइरहेको छ । ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन निर्माण आगामी महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री राधा ज्ञवालीले प्राधिकरणलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले ठूला र जलाशययुक्त आयोजनालाई प्राधिकरणले नेतृत्व गरेर विकास गर्नुपर्ने र मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्नुपर्ने धारणा राख्नुभयो । प्राधिकरणबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय र भरपर्दो बनाउन नवीनतम प्रविधिको उपयोग गरिने मन्त्री ज्ञवालीको भनाइ थियो । कार्यक्रममा प्राधिकरणमा क्रियाशील कर्मचारी सङ्घ तथा सङ्गठनका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्