नेभिगेशन
अन्य

दरबन्दी अनुसार चिकित्सक नहुँदा राप्ती अञ्चल अस्पतालमा समस्या

तुलसीपुर । दरबन्दीअनुसार चिकित्सक नहुँदा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सेवा प्रवाहमा समस्या भएका छन् । विशेषज्ञसहित २० चिकित्सकको दरबन्दी रहेको सो अस्पतालमा हाल १० चिकित्सक मात्र कार्यरत रहेको अस्पतालले जनाएको छ । त्यसमा पनि अहिले केही चिकित्सक घरायसी कामले बिदामा बसेपछि छ जनाले मात्र अस्पतालमा सेवा दिइरहेका छन् । अस्पतालमा मेडिकल अधिकृत नहुँदा पनि कठिनाइ हुने गरेको अस्पताल प्रशासनका नासु नवेन्द्र गिरीले बताए । उनले भने–‘शल्यक्रिया कक्षमा आवश्यक पर्ने उपकरण छैनन्, सघन उपचार कक्षमा चाहिने आवश्यक जनशक्ति र उपकरण पनि छैन त्यसले पनि सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ । सोही कारण पनि बिरामीलाई सेवा दिन नसकेपछि सिफारिस गर्नुपर्ने बाध्यता छ ।’ अस्पताल प्रशासनले पटकपटक यहाँका समस्याका बारेमा लिखित पत्राचार गर्ने गरे तापनि केन्द्रबाट कुनै सुनुवाइ नभएको बताएको छ । त्यसैगरी अस्पतालमा चिकित्सकका लागि बस्ने आवास भवन पनि छैन जसले गर्दा पनि चिकित्सकलाई अस्पतालमा रातिको समयमा इमजेन्सी बिरामी आएपछि टाढाबाट आउनुपर्ने बाध्यता पनि छ । अस्पतालमा नत बस्ने बास छ नत आवश्यक उपकरण छन् कसरी हामीले काम गर्ने एक चिकित्सकले दुखेसो गरेका छन् । तुलसीपुरमा राप्ती अञ्चल स्थापनाको माग गर्दै यहाँका नागरिकले २०६२ सालमा महायज्ञ लगाएर रु दुई करोड बढी रकम जम्मा गरेर व्यापक दबाबका कार्यक्रमलाई निरन्तर दिएपछि सरकारले २०६५ सालमा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तरवृद्धि गरेर सो अस्पताल निर्माण गरिएको हो । तर अहिले भवन भए पनि आवश्यक दक्ष जनशति र उपकरणको अभाव भने यथावत नै छ । त्यसैगरी अस्पतालको कम्पाउण्डसमेत नहँुदा चारैतिर खुल्ला छ त्यसले पनि अस्पतालमा काम गर्ने वातावरणलाई असर पारेको छ । यसैबीच वर्षायामका कारण यतिखेर राप्ती अञ्चल अस्पतालमा ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखाला, निमोनियाका बिरामी आउने सङ्ख्यामा बढिरहेको जानकारी चिकित्सक किशोर खत्रीले दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्