नेभिगेशन
अन्य

कांग्रेस महाधिवेशन सार्न नयाँ संविधानमा बाटो खुल्ला

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको प्रक्रिया सुरु हुने मिति र संविधानसभा मार्फत संविधान जारी हुने मिति एकै साथ परेपछि कांग्रेसका लागि बैधानिक संकट टार्न नयाँ संविधानमा राजनीतिक पार्टीको आवाधिक महाविधेशनको गराउने व्यवस्थालाई केहि खुकुलो बनाउने सहमति भएको छ । प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरुले नयाँ संविधानमा राजनीतिक दलको अधिवेशन पाँचवर्ष भित्र गरिसक्नु पर्ने बाध्यात्मक कानुनी व्यवस्था हटाउन मुख्य दलहरुका बीचमा सहमति भएको छ । संविधानका विवादित विषयमा सहमति जुटाउन बसेको शीर्ष नेतासम्मिलित उच्चस्तरिय विशेष समितिले यस्तो बाध्यता हटाउँदै विशेष परिस्थितिमा बढीमा ६ महिना थप गर्न सक्ने संबैधानिक व्यवस्था गर्ने सहमति भएको हो । समितिका सभापति बाबुराम भट्टराईका अनुसार विद्यमान ऐन र पार्टी विधान अनुसार पाँचवर्ष भित्र अनिवार्य गर्नुपर्ने पार्टी अधिवेशन विशेष परिस्थितिमा ६ महिना पर सार्न सक्ने व्यवस्था संविधानमा नै गर्ने सहमति भएको छ । संविधान लेखनमा पार्टीका शीर्ष नेतादेखि सभासदसम्म व्यस्त रहेकाले असोजको पहिलो साता हुने भनिएको कांग्रेस महाधिवेशन नहुने निश्चित भएको छ । यो व्यवस्था पछि नेपाली कांग्रेसलाई फागुन सम्मका लागि महाधिवेशनको मिति सार्नका लागि बाटो खुल्ला हुने भएको छ । विद्यमान दलसम्बन्धी ऐन र पार्टीको विधान अनुसार अनिवार्य रूपमा असोज ५ गतेभित्र पार्टीको अधिवेशन सम्पन्न गरी स्थानीय तहदेखि केन्द्रसम्म नयाँ कार्यसमिति चयन गरिसक्नु पर्ने बाध्यात्मक वैधानिक प्रावधानका कारण अप्ठयारोमा परेको पार्टी नेतृत्वलाई चारदलीय सहमतिले राहत दिएको छ । नेपाली कांग्रेसले बिद्यामान ऐनमा संसोधन नहुने हुँदा भदौ १० गतेपछि संविधान निर्माणको तयारीमा पार्टी लाग्न नसक्ने जानकारी अन्य दलहरुलाई दिइसकेको थियो । कांग्रेसको विधान अनुसार प्रत्येक चार वर्ष्भित्र अनिवार्य पार्टी महाधिवेशन गर्नुपर्ने र विशेष परिस्थितिमा पटक पटक वा एकैचोटी गरी बढीमा एकवर्ष पर सार्न सकिने व्यवस्थाका साथै निर्वाचन आयोगमा दलदर्ता सम्बन्धि ऐनको व्यवस्थाका कारण काग्रेसको नेतृत्व निकै अप्ठयारोमा परेको थियो । खासगरी पछिल्लो दुई महिनाको समयमा पार्टीको अधिवेशन तयारीका लागि जुट्नु पर्ने कांग्रेस संविधान लेखनको प्रक्रियामा व्यस्त रहेपछि अधिवेशनको तयारीबारे सक्रिय सदस्यता वितरणको विवाददेखि अधिवेशन तयारीबारे कुनै टुंगोमा पुग्न सकिरहेको थिएन । नेपाली कांग्रेसले भदौ १७ गते गाँउ वडा र नगर अधिवेशन तोकेको थियो भने भदौ २२ मा क्षेत्रिय अधिवेशन र भदौ २५ मा जिल्ला अधिवेशन तोकेको थियो । यसैगरि असोज २ देखि ५ गते सम्म काठमाडौंमा १३ औं महाधिवेशन गर्ने तिथि तय गरेको थियो । कांग्रेसले पनि आन्तरिक रुपमा महाधिवेशन सार्ने बारेमा छलफल गरिरहेको थियो । तर के कारण देखाएर सार्ने वा असोजमा महाधिवेशन नगर्दा आउने बैधानिक संकट कसरी टार्ने भन्नेमा छलफल चलाइरहेको थियो । अब नयाँ संविधानमा विद्यमान ऐन र पार्टी विधान अनुसार पाँचवर्ष भित्र अनिवार्य गर्नुपर्ने पार्टी अधिवेशन विशेष परिस्थितिमा ६ महिना पर सार्न सक्ने व्यवस्था संविधानमा नै गर्ने सहमति दलहरुका बीचमा भएपनि नेपाली कांग्रेसलाई फागुन सम्म महाधिवेशन सार्नका लागि बाटो खुल्ला भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्