नेभिगेशन
अन्य

गोदावरीको १२ बर्षे मेला आजदेखि

काठमाडौं । प्रत्येक बाह्र वर्षमा हुने गोदावरी सिंहस्त महामेला मङ्गलबारदेखि सुरु हुँदैछ । महास्नान, महाध्यान र महाज्ञानको मूल नाराका साथ ललितपुरको गोदावरीस्थित मातातीर्थमा भदौ महिनाभर लाग्ने महामेलाको सबै तयारी पूरा भएको छ । मेला सफल बनाउन प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । बाह्र वर्षअघिको महामेलामा करिब २० लाख दर्शनार्थी आएकामा यस वर्ष बढेर कम्तीमा ५० लाख पुग्ने अनुमान गरिएको प्रचारप्रसार संयोजन समितिका संयोजक श्याम घिमिरेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महामेलाको सुरक्षाका लागि करिब एक सय ५० नेपाल, सशस्त्र र ट्राफिक प्रहरी परिचालन गरिनेछ । विभिन्न ठाउँमा सिसी टिभी जडान गरिनाका साथै विभिन्न संस्थाका करिब पाँच सय स्वयम्सेवक व्यवस्थापनका लागि खटाइने छ । त्यस्तै २५ जनाको स्वास्थ्य टोलीले स्वास्थ्योपचारको काम गर्नेछ । मुख्य मेला केन्द्रमा मांस तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । मेलास्थलमा खाद्यलगायत विभिन्न स्थानीय उत्पादनका दुई सय कक्ष राखिनेछन् । सभासद् उदयशम्शेर राणाले तयारीका लागि भूकम्पले केही महिना बाधा पुर्‍याएको भए तापनि एकवर्षे तयारी भएकाले महामेला सफल बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी तथा महामेलाका संयोजक कोइरालाले संयोजक कोइरालाले धार्मिक तथा पर्यटकीय रुपले गोदावरी महत्वपूर्ण रहेकाले तीर्थाटनका लागि आउन सबैलाई आग्रह गर्दै महामेलाबाट उठेको रकम पारदर्शी बनाउँदै गोदावरी संरक्षण समितिमार्फत सोही क्षेत्रका लागि खर्च गरिने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्