काठमाडौं । पुँजी बढाउने राष्ट्र बैंकको नीति, संविधानको सुनिश्चिता र अनिवार्य डिम्याट पद्धति (अभौतिकीकरण) सुरुवातसँगै सेयर बजार आकासिएको छ । सोमबार बजार खुलेदेखि नै निकै तीव्र गतिमा उचालिएको सेयर बजार परिसूचक ४५ अंकले बढेको छ ।
बजार खुलेको पन्ध्र मिनेटमै परिसूचकले तीस अंक (तीन प्रतिशत) नाघेपछि सर्किट ब्रेक लागेको थियो । १२.३४ मा पुनस् खुलेको बजारमा फेरि दस मिनेमै चालिस अंक पार गरेपछि फेरि सर्किट ब्रेक लगाइएको थियो । सबा एक बजेसम्म सेयर बजार परिसूचक ४५ अंक बढेर ११५७ पुगेको थियो र बीचमा केही घटेको बजार फेरि त्यही बिन्दुमा पुगेर अडिएको थियो ।
सेयर बजारले अहिलेसम्मकै सर्वा्धिक उच्च बिन्दुलाई पछ्याएको छ । उच्च विन्दुलाई छुन अब १८ अंक बाँकी छ । नेपालको सेयर बजारको अहिलेसम्मको उच्च विन्दु ११७५ हो । बाणिज्य बैंक तथा वित्तिय संस्थाहरुको पुँजी बढाउने निर्णयपछि २०६५ मा भदौंमा शेयर बजार परिसूचक ११७५ बिन्दु छोएको थियो । त्यसपछि बजार ओरालो लागेको थियो । गत वर्षको साउनमा सेयर बजार बढेर १०८३ पुगेको थियो । त्यसपछि विस्तारै बजार घट्न थालेको थियो । गत वर्षको उच्च विन्दु क्रस भइसकेकोले अब बजारले २०६५ भदौंको ११७५ को बिन्दुलाई पछ्याएको विश्लेषण गरिएको छ ।
साउन ३२ देखि अधिकांश बाणिज्य बैंक तथा कम्पनीहरुको सेयर कारोबार डिम्याट पद्धितबाट अनिवार्य रुपमा गर्ने नियम लागु गरिएकोले बजारमा सेयर आपूर्ति कम भएकोले पनि बजार एक्कासी उकालो लागेको विश्लेषण गरिएको छ। सेयरको ठूलो हिस्सा डिम्याट र नामसारी प्रकियमा रहेकोले पनि बजारमा सेयरको अभाव रहेको छ । खरिदकर्ताहरुको चाप भने निकै उच्च छ । आइतबार पनि बन्दले पुँजी बजारमा कुनै असर पारेको थिए । बन्दका दिन आइतबार सेयर बजारमा उत्साहजनक वृद्धि भएको थियो भने कारोबार पनि निकै उच्च रहेको छ । सेयर बजार परिसूचक २३ अंकले बढे्यो भने झन्डै एक अर्बको कारोबार भएको थियो । बन्दलाई कुनै परवाह नै नगरी दिनभर लगानीकर्ताहरु सेयरबजारमा सक्रिय देखिएका छन् । गत बिहीबार नै एक वर्ष अघिको उच्च विन्दु ( १०८३ ) अंक पार गरेर १०८६ अंकमा पुगेको सेयर बजार आइतबार २३ अंक बढेर परिसूचक १११२ अंक पुगेको थियो। आइतबार ९८ करोड ८६ लाखको कारोबार भएको छ । बढी नाफा कमाएका र बोनस तथा हकप्रद सेयर जारी गरेर आफै आठ अर्ब पुँजी पु¥याउनसक्ने बैंकहरुको सेयर मूल्य उच्च दरमा बढेको छ । बाणिज्य बैंकहरुको सेयर मूल्य ३२ अंकले बढेको छ । नयाँ राजनीतिक सहमतिसँगै संविधान बन्ने अवस्था सुनिश्चित भएपछि पुँजी बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छ। गत हप्ता पनि सेयर बजार उच्च दरमा उकालो लागेको थियो । बाणिज्य बैंक तथा अन्य वित्तिय संस्थाहरुको पुँजी बढाउने राष्ट्र बैंकको नीतिपछि सेयर बजारमा उछाल देखिएको हो । त्यसलाई सिमांकनसहितको नयाँ राजनीतिक सहमतिले बल र्पुयाएको थियो ।
भूकम्पपछि सुस्ताएको सेयर बजार संविधान निमार्णका लागि दलहरुबीच १६ बुँदे सहमति भएपछि केही सुधार भएको थियो। सुधारको क्रममा रहेको सेयर बजारलाई उकास्ने काम मौद्रिक नीतिले गरेको छ । भूकम्पपछि सेयर बजार सय अंक घटेर ८३८ मा पुगेको थियो । संविधान बन्ने अवस्था सुनिश्चित भएर राजनीतिक वातावरण अनुकुल भएको अवस्थामा पुँजी बढाउने समयसिमा तोकेर आएको मौद्रिक नीतिका कारण शेयर बजारले पहिलेको उच्च विन्दुलाई तोडेर नयाँ कीर्तिमान कायम गर्ने विश्लेषण विज्ञहरुले गरेका छन् ।