नेभिगेशन
अन्य

उपकुलपति सिफारिसमा कांग्रेस र एमालेबीच भागबन्डा विवाद

काठमाडौं । बिभिन्न विश्वबिद्यालयका उपकुलपति सिफारिसमा सत्तासाझेदार कांग्रेस र एमालेबीच भागबन्डा विवाद भएको छ । द्द३ साउनदेखि सातवटा विश्वविद्यालय नेतृत्वविहीन भएका छन् । रिक्त उपकुलपति पदमा सिफारिस गर्न शिक्षामन्त्रीको संयोजकत्वमा सातवटै विश्वविद्यालयका सभासद्सहितका समिति बनेका छन् । प्रधानमन्त्री तथा कुलपति सुशील कोइरालाले २७ साउनसम्म नाम सिफारिस गर्न निर्देशन दिएका थिए । कांग्रेस र एमालेबीचको भागबन्डा विवादले नाम सिफारिस गर्न समस्या भएको स्रोतले बतायो । एमालेले त्रिविसहित तीनवटा उपकुलपति आफ्नो हुनुपर्ने दाबी गरेको थियो । तर, अहिले प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री एवं सहकुलपति कांग्रेसको भएकाले त्रिविको उपकुलपति कांग्रेसकै भागमा दिन एमाले तयार भएको स्रोतले बताएको छ । चार महिनापछि रिक्त हुने त्रिविका रेक्टर र रजिस्ट्रार भने आफूले पाउनुपर्ने एमालेको दाबी छ । स्रोतका अनुसार अहिले कांग्रेसको भागबाट त्रिवि, नेपाल संस्कृत, सुदूरपश्चिम, एमालेको भागबाट पूर्वाञ्चल, पोखरा, कृषि तथा वन विज्ञान र एमाओवादीको भागबाट मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्ने गरी छलफल भइरहेको छ । तर, कांग्रेसका प्राध्यापक संगठन दुई समूहमा रहेकाले यो प्रस्तावमा सहमति हुन नसकेको स्रोतले बतायो । विवाद मिलाएर नियुक्ति गर्ने विषयमा पार्टीका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्