नेभिगेशन
अन्य

कास्की कांग्रेस नेता पौडेलको अन्त्येष्टि

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टीका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गएको बिहीबार राति लेखनाथ नगरपालिकाको गगनगौँडामा हत्या गरिएका नेपाली काँग्रेसका नेता रामजी पौडेल ‘वादल’को पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई आज श्रद्धाञ्जलि दिए । नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयमा राखिएको उहाँको शवमा सिँचाइमन्त्री नारायण प्रकाश साउद, सभासद चन्द्र भण्डारी, यज्ञबहादुर थापा, कमल पङ्गेनीलगायत काँग्रेसका सयौं कार्यकर्ताले पनि पूmलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए । श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता देउवाले नेपाली काँग्रेसका एक होनहार कार्यकर्ता पौडेलको हत्यामा संलग्न हत्यारा र योजनाकार जोसुकै भएपनि कडाभन्दा कडा कारबाही गर्न पार्टी दृढ भएको बताए । पौडेल एक लोकतान्त्रिक आन्दोलनका योद्धा भएको भन्दै नेता देउवाले उहाँको निधनले आफ्नो एउटा हातै भाँच्चिएजस्तो भएको धारणा राखे । उनले मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे । महामन्त्री सिंहले स्व वादलको हत्याका सवै अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पार्टी र सरकार दृढ रहेको विचार व्यक्त गरे । उनले यस हत्याको सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गरिने बताए । यसैबीच, वरिष्ठ नेता देउवा, महामन्त्री सिंह, सभासद चन्द्र भण्डारी, यज्ञबहादुर थापा, कमल पंगेनीलगायतका नेता लेखनाथ नगरपालिकाको गगनगौँडास्थित स्व वादलको घरमा गई उनकी श्रीमती चन्द्रकला पौडेल, छोरी र दाजुभाईलाई समवेदना दिए । यसअघि, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षण रिपोर्टमा दुर्घटनाबाट मरेको भन्ने हल्ला फिँजाएपछि केहीबेर तनावको स्थिति सृजना भएको थियो । उनका आफन्तले शव परीक्षणको रिपोर्ट आफूहरुले हेर्न पाउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । पछि नेताहरुले सम्झाइबुझाई शव चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा लगिएको थियो । पार्टी कार्यालयमा भएको श्रद्धाञ्न्जलिसभापछि उनको शवलाई गगनगौँडास्थित उनको घरमा लगिएको थियो । घरबाट शवयात्रा सुरु गरी सेती नदीको किनारमा लगेर आजै उनको अन्त्येष्टि गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्