नेभिगेशन
अन्य

संविधानको अन्तिम मस्यौदा लेखनकार्य जारी

काठमाडौं । सविधान मस्यौदा समिति मातहतको कार्यदलले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनको आधारमा संविधानको अन्तिम मस्यौदा बनाउने कामलाई तिव्रता दिएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा जारी कार्यदलको बैठकमा संवाद समितिको प्रतिवेदनलाई कानुनी तथा संवैधानिक भाषामा लेख्ने काम जारी रहेको छ । दोहोरिएका तथा अस्पष्ट भएका विषयलाई हटाउँदै सकेसम्म कम त्रुटि राखेर मस्यौदालाई मसिन्याउने काम भइरहेको कार्यदलका सदस्य प्रेमबहादुर सिंहले जानकारी दिए । संवाद समितिको प्रतिवेदन, संविधानसभामा सभासद्ले राखेका धारणा र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निर्देशनलाई आधार मानेर मस्यौदा लेखन प्रक्रिया अगाडि बढाइएको सिंहको भनाइ छ । आज बिहान सात बजेदेखि जारी कार्यदलको बैठकमा दु्रतगतिमा काम भइरहेको छ । कार्यदलमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला, भरतमोहन अधिकारी, हितराज पाण्डे, रमेश लेखक, अइन्द्रसुन्दर नेम्वाङ, जितेन्द्र देव सदस्य रहेका छन् । आवश्यकताका आधारमा अन्य सदस्यलाई समेत कार्यदलको बैठकमा सहभागी गराइने छ । प्रमुख दलबीच धर्म निरपेक्षता, मतप्रतिशतको सीमा थ्रेसहोल्ड र संवैधानिक अङ्गका प्रमुखको पुनःनियुक्ति गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन । ती विषयमा सहमति नहुँदा मस्यौदा समितिमा केही अन्योल भने कायम हुन पुगेको छ । तर मस्यौदा समितिअन्तर्गतको कार्यदलले दलहरुबीच भएको सहमति, संविधानसभाको निर्देशन र संवाद समितिको प्रतिवेदनका आधारमा मस्यौदालाई टुङ्ग्याइँदै जानेमा भने मतैक्य भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्