नेभिगेशन
अन्य

पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा पोखरेल

काठमाडौं । सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणमा रहने चार मन्त्रीसहित प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पोखरेललाई नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिए । अर्को व्यवस्था नभएसम्मका लागि योजना आयोगमा उपाध्यक्ष डा पोखरेल नै कार्यरत रहने निर्णय पनि बैठकले गरेको छ । प्राधिकरणमा चार जना मन्त्री सदस्य रहने प्रावधानअनुसार बैठकले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा रामशरण महत, सहरी विकास मन्त्री डा नारायण खड्का, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पालाई नियुक्त गरेको छ । प्राधिकरणको विज्ञ सदस्यमा भने तारानिधि भट्टराई नियुक्त भएका छन् । सरकारले नेपाली सेनाको महारथी पदमा पदोन्नती गरी प्रधान सेनापति पदमा २०७२ साल भदौ २४ गतेदेखि लागू हुने गरी राजेन्द्र क्षेत्रीलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार मन्त्री डा रिजालले बताए । बैठकले स्वास्थ्य सेवा प्याथोलोजी समूह, जनरल प्याथोलोजी उपसमूहको ११ औँ तह प्राविधिकमा डा रुणा झालाई र नेपाल स्टक एक्सचेन्ज लिमिटेडकोे अध्यक्षमा रामजी रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै न्याय सेवा आयोगको सिफारिस बमोजिम न्याय सेवाका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतको सरुवा गरेको उनले बताए । सरकारले पहिरोमा परी बेपत्ता हुनुभएका रसुवा भन्सार कार्यालयका नायब सुब्बा ख्यालबहादुर अर्यालका परिवारलाई मृतकका परिवार सरह राहत प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने र विभिन्न दाता मुलुक तथा संस्थाबाट प्राप्त हुने ऋण तथा आर्थिक सहायता लिनका लागि स्वीकृत दिने निर्णय गरेको छ । सरकारको विशिष्ट श्रेणी पदबाट श्रीधर गौतम र नवराज भण्डारीले दिएको राजीनामा स्वीकृत गरेको सञ्चारमन्त्री डा रिजालले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्