नेभिगेशन
अन्य

१३ औं महाधिवेशनमा नेतृत्व लागि नेतात्रय भने दौडमा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्योलै रहे पनि शीर्ष नेताहरूले नेतृत्वका लागि कसरत थालेका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले १३औं महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउन कसरतमा जुटेका हुन्। महाधिवेशनका लागि तोकिएको मिति आउन ३७ दिन मात्र बाँकी रहँदा कांग्रेसले त्यसको कुनै तयारी भने थालेको छैन। सभापति कोइरालाले १३ औं महाधिवेशनमा पनि उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छैनन्। तर, उनी चुनावमा उठ्ने निकट नेताले बताएका छन्। ‘भेटघाटमा उहाँ (कोइराला) जित्ने मान्छे उम्मेदवार हुनुप¥यो भन्नुहुन्छ,’ कोइराला निकट एक नेताले भने, ‘जित्ने मान्छे मै हुँ भन्न मात्र बाँकी छ।’ वरिष्ठ नेता देउवाले पार्टी नेता तथा कार्यकर्तासँगको भेटलाई तीव्र बनाएका छन्। आफूनिकट नेताहरूलाई अञ्चल र जिल्लाको जिम्मेवारी बाँडफाँट गरी नेतृत्व हत्याउने तयारीमा जुटेका देउवाले बानेश्वर र अनामनगरमा सम्पर्क कार्यालय खोलेका छन्। उनले राजेन्द्र खरेलको बानेश्वरस्थित घरलाई सम्पर्क कार्यालय र अनामनगरमा क्रियाशील सदस्यता अपडेट र विशेष भेटघाट गर्ने थलो बनाएका छन्। उपसभापति पौडेलले साउन १३ गते निकट नेताहरूको काठमाडौंमा भेला गरी पार्टी नेतृत्वबाट फर्कन मिल्ने अवस्था नरहेको बताएका छन्। नेता शेखर कोइराला, खुमबहादुर खड्कासहित नेताहरूसँगको छलफलपछि भेला राख्दै पौडेलले भने, ‘पार्टीमा मैले धेरै अन्याय भोगेको छु, कुनै पनि आधारमा अब मैले फर्कन मिल्ने अवस्था छैन।’ सभापतिमा सहयोग गर्न आग्रह गर्दै पौडेलले पछिल्ला दिनमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेट तीव्र बनाएका छन्। महाधिवेशनको पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता विवाद अझै टुंगो लाग्न सकेको छैन। केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको सदस्यता छानबिन समितिले वैशाख मसान्तभित्र सदस्यता छानबिन सक्ने बताए पनि अझै काम पूरा गर्न सकेका छैन। तीन महिनाभन्दा बढी समय लिँदासमेत समितिले गाउँ, क्षेत्र र जिल्लाबाट विधि र प्रक्रिया पूरा गरेर आएका फारमलाई मात्र स्वीकृत गरेको छ। अन्य सदस्यता फारमको टुंगो लाग्न सकेको छैन। समितिले सभापति कोइराला र वरिष्ठ नेता देउवा पक्षको सहमतिमा विवाद टुंगो लगाउन नसकेका सदस्यता फारमलाई थाती राख्दै १२ औं महाधिवेशनको सदस्यलाई मात्र मान्यता दिने निर्णय गरेको स्रोतको दाबी छ। सदस्यता छानबिन टुंगो लाग्न नसक्दा गाउँ अधिवेशनसमेत प्रभावित हुने भएको छ। आगामी भदौ २ गतेसम्म सदस्यता टुंगो लाग्न नसके भदौ १७ गते गाउँ अधिवेशनका लागि सदस्यता सूची गाउँसम्म पुर्यागउन नसकिने एक नेताले जानकारी दिए। त्यस्तै, कांग्रेसले महाधिवेशनका लागि अझै निर्वाचन समिति गठन गरेको छैन। तीन सदस्यीय निर्वाचन समितिमा अहिले दुई जना मात्र छन्। निर्वाचन समितिमा वरिष्ठ नेता देउवा पक्षले सदस्यको नाम दिएको छैन। जिल्लादेखि गाउँ अधिवेशन गराउन जिल्ला निर्वाचन अधिकृत खटाउनेतर्फ पार्टीले ध्यान दिएको छैन। उसले भदौ १७ गते गाउँ अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेसले महाधिवेशन मूल तयारी, विधान संशोधन, राजनीतिक, सांगठनिक दस्तावेज लेखन, आवास, खाद्य, आर्थिकसहितको समिति अहिलेसम्म गठन गरेको छैन। मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले भने आगामी केन्द्रीय समितिबाट महाधिवेशन तयारीका लागि आवश्यक समिति गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, महाधिवेशनअघि नै संविधानसभाबाट नयाँ संविधान जारी हुने भएपछि कांग्रेसलाई पार्टीको विधानमा आमूल परिर्वतन गर्नुपर्ने भएको छ। प्रदेशको सीमांकनसहित नयाँ संविधान जारी भएपछि हुने महाधिवेशनमा जिल्ला र अञ्चलको हालको संरचनालाई कसरी परिमार्जन गर्ने भन्ने चुनौती पनि आइपरेको छ। प्रदेश सीमांकन गर्दा बाग्लुङसहित तीन जिल्ला फरक–फरक प्रदेशमा परेकाले पार्टीको सांगठनिक संरचनामा हेरफर गर्नुपर्ने भएको छ। अहिलेको संरचनाअनुसार जिल्ला सभापति र प्रत्येक अञ्चलबाट एक–एक केन्द्रीय सदस्य निर्वाचित हुने विधानमा व्यवस्था छ। त्यस्तै, प्रमुख दलले गरेको प्रदेश सीमांकनलाई लिएर अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतसहित आसपास जिल्लामा आन्दोलन चर्कंदै जाँदा गाउँदेखि जिल्ला तहको अधिवेशन प्रभावित हुने अड्कल गर्न थालिएको छ। सीमांकनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रेकाहरूले कांग्रेसको सुर्खेतस्थित कार्यालय तोडफोड र आगजनी गरेकाले पूर्वनिर्धारित तालिकामा अधिवेशन गर्न समस्या हुने नेताहरूको आँकलन छ। भदौ १५ गते संविधान जारी भए १७ गतेका लागि तोकिएको गाउँ अधिवेशनमा सहभागी हुन जिल्ला पुग्न नसकिने नेताहरू बताउँछन्। आगामी असोज ५ गतेभित्र १३ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने कांग्रेसलाई संवैधानिक बाध्यता रहेको छ। त्यसो त नयाँ संविधानमा पाँच वर्षभित्र राजनीतिक दलहरूले अधिवेशन गर्नुपर्ने व्यवस्था कायमै राख्दै मुलुकमा कुनै संकटकालीन अवस्था आए एक वर्षसम्म थप गर्न सकिने प्रावधान रहेकाले त्यसलाई टेकर कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। तर, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पूर्वर्निधारित मितिमा नै महाधिवेशन हुने बताउँदै आगामी केन्द्रीय समितिको बैठकले महाधिवेशन तयारी समिति गठन गर्ने बताए। ‘संवैधानिक व्यवस्थाअनुसार पनि अब महाधिवेशन सार्ने ठाउँ छैन,’ पौडेलले भने, ‘दस्तावेज लेखनसहित विभिन्न समिति गठन गर्ने विषयमा हामी छलफलमा छैं।’ तयारी समिति गठन गर्न भन्दै बुधबार पनि कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा बसेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्