नेभिगेशन
अन्य

निमाछम्जी विश्‍वकै कान्छी आरोही

काठमाडौं । सोलुखुम्बु गुदेलकी निमाछम्जी शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको रेकर्ड कायम गराउन सफल भएकी छिन्। उनलाई बुधबार गिनिज वल्र्ड रेकर्डले दक्षिणी मोहडाबाट सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको प्रमाणपत्र पठाएको हो। निमाछम्जीले २०६९ जेठ ६ गते शनिबार सगरमाथा आरोहण गरेकी थिइन्। आरोहण समयमा निमाछम्जी १६ वर्ष ६ महिनाकी थिइन्। प्रमाणपत्र पाएपछि निमाछम्जीले खुसी हुँदै भनिन्‘ बुधवार साउथ साइडबाट सगरमाथा चढ्ने कान्छी आरोहीको उपाधि पाएँ, एकदमै खुसी लागेको छ।’ रेकर्ड पाउन झन्डै तीन वर्ष पर्खनुपरेको उनले सुनाइन्। उनले सगरमाथा आरोहण गरेपछि उनका बुबा डेन्डी छोरीको रेकर्ड कायम गराउन लागिपरेका थिए।१८ जनाको समूहमा निमाछम्जीसँगै उनका बुवा डेन्डी पनि सगरमाथा चुचुरामा पुगेका थिए। बुवाछोरी एकैपटक सगरमाथा आरोहण गरेको पहिलो घटना भएको जनाउँदै गिनिज बुकले उनीहरूलाई पहिलो बुवाछोरी सगरमाथा आरोही भएको रेकर्ड पनि दिने भएको छ।हाल राजधानीको बौद्धमा बस्दै आएकी निमाछम्जीले जोरपाटीमा रहेको हिमालयन इन्टरनेसनल मोडल उमाविबाट प्लस टु सकिन्। आफ्नो उद्देश्य पहिलेदेखि नै पर्वतारोहण क्षेत्रमा रहेको उल्लेख गर्दै उनले यस रेकर्डले झनै उत्साह थपेको बताइन्। ‘मलाई पहिलेदेखि नै माउन्टेन प्रोजेक्ट मन पर्थ्‍यो, यस रेकर्डले झनै हौसला मिलेको छ।’ उनले आफूले पाएको रेकर्ड साउन ३१ गते आइतबार पर्यटन बोर्डमा एक कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी रहेको बताइन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्