नेभिगेशन
अन्य

संविधानसभाको बैठक शोक प्रस्ताव पास गर्दै सकियो, दोश्रो बैठकमा संविधानको मस्यौदामा छलफल

काठमाडौं । संविधानसभाको मंगलबारको पहिलो बैठक राष्ट्रियसभाका पूर्वसांसद तथा बरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गर्दै टुंगिएको छ । बिहान ९ बजे बोलाइएको बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले शोक प्रस्ताव पेश गरेपछि संविधानसभाले सो प्रस्ताव पारित गरेको हो ।अब बस्ने दोस्रो बैठकमा संवैधानिक राजनीति सम्वाद तथा सहमति समितिले पेश गरेको संविधानको पहिलो मस्यौदामाथिको परिमार्जित प्रतिवेदनमाथि छलफल हुनेछ । परिमार्जित मस्यौदामाथि धेरै सभासदका गुनासा, असन्तुष्टि र असहमति रहेका कारण छलफल लम्बिने सम्भावना रहेको संविधानसभा सचिवालय स्रोतले जनाएको छ । मस्यौदाका पक्षधर ठूला पार्टीका सभासदहरु नै असहमत रहेका कारण बोल्न चाहने सबै सभासदलाई समय दिँदा दिनमा १० घण्टा छलफल चलाउँदा पनि दुई दिन लाग्ने अनुमान सचिवालयले गरेको छ । संविधानसभा अध्यक्ष नेम्वाङले परिमार्जित प्रतिवेदनमाथि बोल्न चाहने सभासदलाई समय दिइने बताए । यद्यपि परिमार्जित प्रतिवेदनमा भन्दा मस्यौदा समितिबाट आएको विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावमा सभासदले बोल्नु औचित्यपूर्ण हुने उनले बताए । नेम्वाङले भने(परिमार्जित प्रतिवेदनका आधारमा मस्यौदा समितिले पहिलो बिधेयक बनाएर ल्याएपछि सभासदहरुले बोल्दा राम्रो हुन्छ । प्रदेशहरुको सीमांकनका विवादले प्रायः सबै दलमा तरंग ल्याएको छ । जिल्ला टुक्रिएकोदेखि सम्भावित प्रादेशिक राजधानी कता हुने भन्न विवादले समेत सभासदहरु अशन्तुष्ट छन् । संविधानसभामा २ दिन छलफलपछि मस्यौदा समितिमा परिमार्जित प्रतिवेदन पठाइनेछ । मस्यौदा समितिले पाँच दिनको समय मागेको छ । यसअघि संवाद समितिले ७ दिन थप समय लिइसकेका कारण अब साउन मसान्तमा संविधान आउने सम्भावना सकिएको छ । यो ढिलाइका कारण सबै प्रक्रिया सहज रुपमा अघि बढ्दा पनि संविधान जारी गर्न कम्तिमा भदौ १५ सम्म लाग्ने स्रोतले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्