नेभिगेशन
अन्य

संविधानको एकीकृत मस्यौदा बनाउन दलहरु छलफलमा

काठमाडौं । संविधानको मस्यौदामा देखिएका विवाद समाधान गरि एकीकृत मस्यौदा बनाउन दलहरुबीच छलफल जारी रहेको छ । संघियताको सीमांकनसहितको संविधान ल्याउने वा त्यसलाई छाडेर संविधान ल्याउने भन्नेमा फरक मत देखिएपछि त्यसलाई मिलाउन कठिन देखिएको छ । मुख्य दलका शीर्ष नेताहरु संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित भएपछि अनौपचारिक छलफल गरेर संघीयताको सिमाना सहितको संविधान जारी गर्ने कसरतमा जुटेका हुन् र बैठकमा १६ बुँदे सहमति अनुसार नै अघि बढ्ने वा त्यसलाई संसोधन गरेर जाने भन्नेमा छलफल हुने भएको छ । १६ बुँदे सहमति अनुसार नै अघि बढ्ने साउन ३२ मा संविधान ल्याउने विषयमा केन्द्रित हुने कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सम्भव भए सीमांकन टुङ्गो लगाउने नभए त्यसलाई बाँकी राखेर यसअघिको सहमति अनुसार नै संविधान ल्याउनेमा छलफल केन्द्रित भएको छ । भित्र भएको छलफल र बाहिर आएका कुराकानी फरक परेको पनि उनले बताए । संविधानसभाको निर्देशनअनुसार जनताका सुझाव समेटिएको प्रतिवेदन संविधानसभाको संवैधानिक सम्वाद तथा सहमति समितिले हिजो नै संविधानसभामा पेस गर्नुपर्ने थियो । तर, समितिका सभापति बाबुराम भट्टराईले समितिको बैठक अनिश्चितकालका लागि सरेको घोषणा गरेका थिए । यसले संविधान जारी गर्ने विषयमा थप अन्योल पैदा भएको छ । सीमांकनसहितको संघीयता ल्याउन शीर्ष नेताहरूबीच सैद्धान्तिक सहमति भएको र निर्णयमा पुग्न समय लाग्ने भन्दै बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए । आज दिनभर छलफल गरेर सहमतिमा पुग्ने नेताहरुको भनाइ छ । नागरिकबाट प्राप्त भएका सुझावको आधारमा ११ वटा प्रमुख विवादित विषय निर्धारण गरेर छलफल गरेका नेताहरुले सबै विवादित विषयमा सहमति जुटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्