नेभिगेशन
अन्य

सीमांकन सहितको संविधान ल्याउने शीर्ष नेताको प्रयास

काठमाडौं । प्रदेशहरूको सीमांकनसहितको संविधान जारी गर्न दबाब बढेपछि शीर्ष नेताहरू पुनः सीमांकनको विवाद टुंग्याउन छलफलमा जुटेका छन् । शीर्ष नेता सम्मिलित विशेष समितिको शनिबारको बैठक प्रदेशहरूको सीमा कसरी गर्ने भन्ने विषयमा केन्द्रित रह्यो । तर, छलफल कुनै निष्कर्षमा पुग्न सकेन । ‘सीमा र नामसहितको संघीयताका पक्षमा अधिकांश जनताका सुझाब आएकाले शनिबारको छलफल त्यही विषयमा केन्द्रित भयो,’ बैठक स्रोतले भन्यो, ‘अन्य विषयमा लगभग सहमति भइसकेको छ, प्याकेजमै सहमति गर्ने भनिएकाले बैठक सारिएको हो ।’ औपचारिक बैठक एक दिन पर सारेपछि कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका नेता अनौपचारिक बैठकमा जुटेका छन् । स्रोतका अनुसार जनताका सुझाबको दबाबभन्दा बाह्य दबाबका कारण शीर्ष नेताहरू पुनस् सीमांकनको छलफलमा जुटेका हुन् । सीमांकनको जिम्मा विज्ञसम्मिलित संघीय आयोगलाई दिने गरी २५ जेठमा भएको १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेको भारतले पछिल्लो समय नेपालका पूर्वप्रधानमन्त्रीहरूलाई भारत बोलाएर सीमांकन टुंग्याएर मात्र संविधान जारी गर्न सुझाब दिइरहेको छ । यतिवेला भारत भ्रमणमा रहेका कांग्रेस वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले त्यस्तै सुझाब दिएको छ ।त्यसअघि भारत गएका एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि त्यस्तै सुझाब दिइएको थियो । बैठक स्रोतले सीमासहितको संघीयता, नागरिकता र धर्मसम्बन्धी व्यवस्थाबारे बाह्य चासो बढ्दै गएपछि शीर्ष नेता त्यसमा केन्द्रित भएर छलफलमा जुटेका हुन् ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्