नेभिगेशन
अन्य

प्रेस विरोधी संविधान बन्न दिन्नौं : सिंह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं उपप्रधानमन्त्री प्रकाशमान सिंहले नयाँ संविधानमा लोकतन्त्र र प्रेस स्वतन्त्रता विरोधीहरु प्रावधान उल्लेख नहुने दावी गरेका छन् । नेपाल प्रेस युनियन ललितपुरका शाखाको वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै महामन्त्री सिंहले प्रेस स्वतन्त्रता बिनाको संविधान जारी हुने अवस्था आउन नदिन कांग्रेस सक्रिय रहेको बताए । ‘संविधान सम्झौताको दस्तावेजका रुपमा आउने भएतापनि लोकतन्त्रका आधारभूत मान्यतामा सम्झौता हुन कांग्रेसले दिदैंन । स्वतन्त्र प्रेस भएमात्रै संविधान दिगो हुन्छ भन्नेमा कांग्रेस दृढ छ ।’, सिंहले भने । कार्यक्रममा ललितपुर कांग्रेसका सभापति एवं सभाषद मदन अमात्यले लोकतान्त्रिक संविधान बनेपछि नेपाली पत्रकारिताको प्रबद्र्धनमा थप मद्दत पुग्ने बताए । यस्तै सभाषद चन्द्र महर्जन र उदयशमशेर राणाले पनि नेपाल प्रेस जगतले राजनीतिक प्रक्रियालाई सधैं सहयोग गरेको भन्दै संविधानले प्रेसलाई न्याय दिनुपर्ने बताए । पूर्व सभाषद रामकृष्ण चित्रकारले विगतको संविधानसभाले गरेका केही राम्रा निर्णयहरुलाई निरन्तरता दिन अहिलेको संविधानसभा चुकेको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार कविर राणाले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने संविधान बनेमा लोकतान्त्रिक प्रक्रिया संस्थागत नहुने बताए । श्रमजीवी पत्रकारहरुका हकअधिकार संरक्षण गर्नका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने राणाको भनाई थियो । कार्यक्रममा प्रेस युनियनका पूर्व अध्यक्षद्वय कुलचन्द्र वाग्ले, समीरजंग शाह, युनियनका उपाध्यक्षद्वय ईश्वरी ओझा, बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, उपमहासचिव सलोजा दाहाल, कोषाध्यक्ष सरोज अधिकारी, उपत्यका संयोजक निरज खतिवडा,केन्द्रीय सदस्यहरु भुवन शर्मा र माधव चम्लागाई तथा पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय प्रकाश तिमिल्सेना र माधव दुलाल लगायतले पत्रकारिता क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्