नेभिगेशन
अन्य

जननायक वीपी कोइरालाको निधन भएको घरमा पार्टी प्यालेस

काठमाडौँ । काठमाडौं महानगरपालिका–८ स्थित जयबागेश्वरीमा रहेको बिपी कोइरालाको पुरानो घरमा पार्टी प्यालेस सञ्चालन गरिएको छ । घर बिपीका भाइ तारिणीप्रसादको भए पनि लगभग पाँच वर्ष बसेकाले आम काँग्रेस कार्यकर्ता एवम् वीपीलाई चिन्ने जान्नेले उनकै घर भनी ठान्ने गरेका छन् । बिपी राष्ट्रिय मेलमिलापको नीति लिई भारतबाट २०३३ पुस १६ गते नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै कारागार जीवनपछि यही घरमा आई बसेको थिए । ‘बिपी विसं २०३५ देखि २०३९ साल साउन ६ गतेसम्म यही घरमा बस्नुभएको थियो, बीचमा राजनीतिक काममा बाहिर जाने आउने गरे पनि उहाँको मूल थलो यही थियो, यसैले यो स्थल महत्वपूर्ण छ,’ काँग्रेस नेता पुरुषोत्तम बस्नेतले भने । बिपी बसेका बेलामा धेरै मानिस उहाँको घर सोद्धै यहाँ आउँथे, घर उहाँका भाइको भए पनि सबैले बिपीको घर भन्थे, तारिणीकी श्रीमती रोशा र उहाँकी बहिनी पद्मादेवी रेग्मीलाई माइतीले यो घर दिएको जयबागेश्वरीका ७० वर्षीय नानीबाबु पाठकले जानकारी दिए । तारिणीको नामको यो घर उनको शेषपछि छोरा ज्योतिका नाममा रहेको छ । ज्योतिले यो घर अहिले पार्टी प्यालेसलाई १० वर्षका लागि मासिक ५० हजार भाडामा दिएका छन् । दुई रोपनी छ आना जग्गामा रहेको सो घर भत्काएर सञ्चालक प्रेमकुमार बर्माले २०६८ साल मङ्सिरपछि ट्रस बनाएर पार्टी प्यालेस सञ्चालन गर्न थालेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्