नेभिगेशन
अन्य

जनताका उपयुक्त सुझाव समेटेर संविधान जारी हुन्छ :ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताएका छन् । एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै नेता ओलीले जनताबाट आएका सुझावलाई संविधानमा समावेश गरिँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरे । उनले नयाँ संविधान कुनै दलविशेषका नेतालाई नभई देश र जनतालाई चाहिएको बताए । संविधान जारी भएपछि संविधानसभा भने कायम नरहने जिकिर गर्दै उनले त्यसपछि काम संविधानमा उल्लेख भएबमोजिमका नियम र विधिअनुसार हुँदै जाने बताए । उनले भने ‘अहिले नै प्रदेशको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याउनतिर लाग्ने हो भने फेरि पनि संविधान नबन्न सक्छ, त्यसैले यी विवादको टुङ्गो सङ्घीय आयोगले लगाउने छ र संविधानमा समावेश गरिन्छ ।’संविधान जारी भएपपछि नयाँ सरकार गठन हुने र सोको ध्यान भूकम्पबाट क्षतविक्षत भएको मुलुुकको पुनःनिर्माणमा केन्द्रित हुने अध्यक्ष ओलीको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले कसैको बुई चढेर असफल बनाउने प्रयास गरे पनि अब संविधान निर्माणको काममा कसैले अवरोध गर्न नसक्ने बताए । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन संसद्मा प्रस्ताव दर्ता गरिएको तथा स्वास्थ्य बिमा र जनसङ्ख्या ऐन ल्याइसकिएको जानकारी दिए । कार्यक्रममा पार्टी निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेल र उपाध्यक्ष मनबहादुर गुरुङलेलगायतले धारणा राखेका थिए । सो अवसरमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्