नेभिगेशन
अन्य

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस आज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ३७ औँ स्मृति दिवस बिहीबार मनाईंदैछ । जननायक बीपी कोइरालाको ३३ औँ स्मृतिदिवसको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको स्मृति दिवस मनाईंने गरिन्छ । उनीहरू दुवैको त्याग र बलिदानीपूर्ण संघर्षले नेपाली राजनीतिमा ठूलो परिवर्तन आएको छ । बीपी कोइरालाको पुण्य तिथीको अवसर पारेर नेपाली कांग्रेस तथा भातृ संगठनहरूले बिबिध कार्यक्रमहरू आयोजना गरिरहेका छन् । त्यस्तै पुष्पलालको स्मृति दिवसका सन्दर्भमा एमाले लगायत विभिन्न कम्युनिष्ट घटकहरूले कार्यक्रम आयोजना गर्ने गर्दछन् । स्व. पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्युनिष्ट पार्टी तत्कालिन संस्थापकहरूमा नारायाणविलास जोशी, निरञ्जनगोविन्द बैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेठ थिए । उनीहरू मध्ये अहिले कोही पनि जीवित छैनन् । नेपाली कम्युनिष्ट आन्दोलनको सुरूआत गरी त्यसलाई उचाईमा पुर्याउन यी नेताहरूको महत्वपूर्ण योगदान रहेको युवा कम्युनिष्ट नेताहरूको बुझाई छ । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडे । १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल जीवन भर नेपाली कम्युनिष्ट पार्टी निर्माणमा दिलोज्यान दिएर लागे । राणविरोधी आन्दोलनका अगुवा सहिद गंगालालका श्रेष्ठका माइला भाइ पुष्पलाले आफ्नो जीवननै देश र जनताको मुक्तिका लागि समर्पित गरे । विश्व कम्युनिष्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिष्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान उनले दिएका थिए । निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०१५ सालमा अगाडि सार्ने उनी पहिलो नेता समेत थिए । सो आन्दोलनले २०४६ सालमा आएर पूर्णता पाएको थियो । त्यसकै जगमा उभिएर २०६२÷६३ को जनआन्दोलन सफल भएको विश्लेषकहरूको बुझाई छ । उनको २०३५ साल साउन ७ गते आजकै दिन भारतको नयाँ दिल्ली स्थित अल इण्डिया मेडिकल इन्ष्टिच्यूटमा उपचारको क्रममा निधन भएको थियो । पुष्पलालको स्मरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारै एक विज्ञप्ति जारी गर्दै उनको योगदानको चर्चा गरेका छन् । ‘श्रमजीवी जनताका मुक्तिका लागि बैचारिक मार्गदर्शन र संगठनात्मक आधार तयार गरी पार्टीलाई वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ र सामन्तवादविरोधी संघर्षका रूपमा स्थापित गर्न उहाँले जीवन समर्पित गर्नुभयो’ उनले विज्ञप्तिमा भनेका छन् । त्यस्तै ओलीले स्वर्गीय नेता पुष्पलालप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्