नेभिगेशन
अन्य

सवै शीर्ष नेताहरु सुझाव संकलनमा व्यस्त

काठमाडौँ । प्रधानमन्त्री सुशील कोइराला आफ्नै गृहजिल्ला बाँकेका चार वटै निर्वाचन क्षेत्रमा सुझाव सङ्कलनमा व्यस्त रहे । नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामाथि जनताको सुझाव सङ्कलन गर्न नेपालगन्ज पुगेको प्रधानमन्त्री कोइरालाले आफ्नो निर्वाचन क्षेत्र बाँके क्षेत्र नं ३ को नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै जनता नै सबै शक्तिका स्रोत हुन् भन्ने मान्यतालाई अँगालेर संविधान जारी गरिने बताए । उनले तराई, पहाड र हिमालमा बस्ने सबै नेपालीको अधिकार सुनिश्चित हुने व्यवस्था संविधानले गर्ने विश्वास दिलाए । प्रधानमन्त्री कोइरालाले भने, “सङ्घीयताका विषयमा उठाइएका शङ्का निरर्थक हो, संविधान बन्दैन कि भन्ने शङ्का गर्नु पनि भ्रम सिर्जना गर्नु मात्र हो, यी सबै हल्लाको पछि तपार्इंहरू कोही पनि नलाग्नुहोला ।” त्यसपछि प्रधानमन्त्री कोइरालाले बाँके क्षेत्र नं १ को कोहलपुर, क्षेत्र नं २ को हिर्मिया र क्षेत्र नं ४ को खजुरामा आयोजित छुट्टाछुट्टै सभालाई सम्बोधन गरे । यता काँग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवा काठमाडौँ क्षेत्र नं ३ को सुन्दरीजलस्थित खोख्रेली माविमा आयोजित कार्यक्रममा सहभागी भए । बरिष्ठ नेता देउवा डडेलधुराबाट प्रत्यक्ष निर्वाचित संविधानसभा सदस्य हुन् । संविधानसभा सचिवालयले सवै प्रत्यक्ष निर्वाचित सभासद्हरुलाई सुझाव संकलनका लागि आफ्ने निर्वाचन क्षेत्रमा खटाएको थियो । काँग्रेस उपसभापति रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं २ को दमौलिस्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजित कार्यक्रममा सहभागी भए । त्यहाँ उपसभापति पौडेलले जनता तथा विभिन्न सङ्घसङ्स्थाका सुझाव लिएका थिए । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो झापा क्षेत्र नं ७ को दमकमा आयोजित कार्यक्रममा जनताको राय सुझाव लिन व्यस्त भए । अध्यक्ष ओली आजै दमकमा पत्रकार भेटघाटमा पनि सरिक भए । सो अवसरमा नेता ओलीले चार दलबीचको १६ बुँदे सहमतिको मर्म र भावनाअनुसार नै संविधान जारी गरिने बताए । एमालेकै वरिष्ठ नेता झलनाथ खनाल इलामको क्षेत्र नं १ स्थित सूर्योदय नगरपालिकामा आयोजित सुझाव सङ्कलन कार्यक्रममा तथा अर्का नेता माधवकुमार नेपाल रौतहटको क्षेत्र १ स्थित गौर नगरपालिकामा आयोजित कार्यक्रममा व्यस्त रहे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतबाट फर्किएलगत्तै सिरहा क्षेत्र नं ५ मा जनताको सुझाव सङ्कलनमा सहभागी भए । उनले सीमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्न आफ्नो दल तयार रहेको बताए । नेता दाहालले जनताको माग र चाहनाअनुसार नै संविधान जारी हुने र सकेसम्म सबै पक्षलाई मिलाएर लैजान प्रमुख चार राजनीतिक दल तयार रहेको समेत जानकारी गराएका थिए । त्यस्तै एमाओवादीका नेता डा बाबुराम भट्टराई गोरखा क्षेत्र नं १ स्थित गोरखा बजारको हरमटारीको कभर्ड हलमा आयोजित जनमत सहभागी हुनुभयो । सो स्थानमा एमालेका सभासद् केशवप्रसाद बडाल पनि सहभागी भए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्