नेभिगेशन
अन्य

झडपपछि बारामा सुझाव संकलन हुन सकेन

बारा । बारामा नयाँ संविधानको मस्यौदामा नागरिकको सुझाव लिने कार्यक्रम शुरु नहुँदै स्थगित भएको छ । मधेस केन्द्रीत दलको विरोधका कारण ठाउँठाउँमा झडप भएपछि जनमत संकलन कार्यक्रम स्थगित भएको हो । प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । आन्दोलनकारीहरुले संविधानको मस्यौदा कार्यक्रम स्थलमै जलाएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दै बरियारपुरमा अश्रुग्यास प्रहार गरेको छ । ‘कुनै पनि राष्ट्रका नागरिक त्यो राष्ट्रको मालिक हो र मालिकको भावनाको बिरोधमा कुनै पनि राष्ट्र चल्न सक्दैन्’ कलैयामा आयोजित सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस सभासद फरमुल्लाह मंसुरले भने ‘त्यसैले यहाँको नागरिकको भावनाको कदर गर्दै संविधानको मस्यौदामा सुझाव लिने यो कार्यक्रम यही स्थगित गर्दछु ।’ बाराको क्षेत्र नं १ को कार्यक्रम कोतवालीमा, क्षेत्र नं २ को कार्यक्रम महागढीमाई नगरपालिकाको बरियारपुरमा र क्षेत्र नं ३ को कार्यक्रम कलैयाको सिदेश्वर खेलमैदानमा आयोजना गरिएको थियो । संघिय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी सहितका नेता कार्यक्रर्ताले बिरोध गर्दै कार्यक्रम बिथोलेका छन । सभासद मंसुरले कलैयामा बोल्नुभन्दा अघि नै आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताले आक्रामक शैलीमा प्रस्तुत भएपछि झडप भएको थियो । झडपमा परी समाजवादी फोरमका जिल्ला अध्यक्ष रामबाबु यादव सहित गोपाल ठाकुर, महन्थ साह, लगायत घाइते भएका छन् । बारा क्षेत्र नं। १ को कोतवालीमा आयोजित कार्यक्रममा सदभावना पार्टीका नेता जियालाल ठाकुरले आफ्नो बिचार राख्दै संविधानको मस्यौदा च्यातेपछि झडप भएको थियो । यस्तै बारा क्षेत्र नं २ को कार्यक्रम महागढीमाई नगरपालिकाको बरियारपुरमा आयोजना गरिएकोमा भिडन्त नै भयो । भिडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । आफ्नो बिचार राख्दै तमलोपाका जिल्ला अध्यक्ष नवलकिशोर सिंहले संविधानको मस्यौदा च्यातेपछि झडप भएको छ । झडपमा सिंहसहित धर्मविर यादव, मदन सिंह, अरुण सिंह, मिश्रीलाल सहनी लगायतका घाइते भएका छन् । आन्दोलनकारीले दर्जनौं राउण्ड आश्रुग्यास चलेको बताए पनि प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले तीन राउण्ड अश्रुग्यास मात्र प्रहार भएको बताए । घाईते सबैको कलैया अस्पतालका साथै स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेहरुको टाउको, हात, खुटामा लाठी, तथा ढुङ्गाले चोट लागेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्