नेभिगेशन
अन्य

टेकोको भरमा भक्तपुरका पुरातत्विक सम्पदा

भक्तपुर । भूकम्पले जीर्ण विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रसिद्ध सम्पदालाई चारैतिर टेको दिएर अड्याइएको छ । भूकम्पपछि पूर्ण रुपमा भत्किन नसकेका यहाँका सम्पदालाई पुनःनिर्माण तथा जीर्णोद्धार सुरु हुने बेलासम्म टिकाउनका लागि चारैतिर टेको दिएर राखिएको हो । विश्वसम्पदा सूचीमै रहेको भक्तपुरको दरबार स्क्वायरस्थित पचपन्नझ्याले दरबारसँगै जोडिएको दरबारकै भागका रुपमा रहेको राष्ट्रिय कला सङ्ग्रहालयलाई टेको दिइएको छ । भूकम्पको धक्काले कमजोर बनाएका सम्पदालाई ढल्नबाट जोगाउन आपत्कालीन टेको लगाइएको विभागका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । सङ्ग्रहालय उत्तर र दक्षिणतर्फ ढल्किएर धाँजा फाटेपछि टेको दिइएकाले सङ्ग्रहालय अवलोकनका लागि स्वदेशी तथा विदेशीलाई रोक लगाइएको छ । सङ्ग्रहालय भूकम्पले जीर्ण बनाएपछि टेको दिएर राख्नुपरेको र सङ्ग्रहालयभित्र प्रवेश निषेध गरिएको सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले बताइन् । दरबार स्क्वायर क्षेत्रकै नारायण मन्दिर तथा कृष्ण मन्दिर पनि टेकाका भरमा अडिएका छन् । विश्वसम्पदा सूचीमै रहेको दत्तात्रय स्क्वायरको पुजारी मठ र मयूर झ्यालको संरक्षण गर्नसमेत टेको लगाउने कार्य सुरु भएको नकर्मीले बताइन् । दरबार क्षेत्र परिसरकै वत्सला मन्दिर, नारायण सिद्धिलक्ष्मी मन्दिर, विश्वरुपा मन्दिर, सिद्धिगणेश मन्दिर, श्वेतभैरव, सिज महादेव, देगइना मन्दिर र ब्रह्मायणी मन्दिर, भेलुखेलस्थित च्यासिंमण्डप, खौमाध्वाका, च्याम्हासिंह ढोकालगायत सम्पदा पूर्ण रूपमा भत्किएका छन् । हनुमानघाटस्थित १२ मन्दिर तथा शिवालय, भक्तपुरका विभिन्न देवताका घर अर्थात् द्योछें, सत्तल, पाटी, पुजारी मठ पनि भत्किएका छन् । दरबार क्षेत्रको वत्सलादेवी (पार्वती) मन्दिरभित्रका ढुङ्गाका मूर्ति, भेलुखेलस्थित च्यासिंमण्डपको गजुर, तौमढी मण्डलको छेउको पाटीको गजुर, तवा सत्तलको टुँडाल तथा काठका मूर्ति सङ्कलन गरी तलेजु भवानीको परिसरभित्र नेपाली सेनाको सुरक्षामा राखिएको छ । वत्सलादेवी मन्दिरका १३५ भन्दा बढी ढुङ्गाका मूर्ति तलेजु भवानीमा राखिएका छन् । क्षतिग्रस्त सामग्री सङ्कलन गरी मौलिक किसिमले पुनःनिर्माण गर्न सहज पुग्ने गरी तस्बिरसमेत तयार गरिएको छ । भूकम्पकै कारण वरिपरिका मन्दिर पूर्ण रुपमा भत्किए पनि विश्वसम्पदा सूचीमै रहेको चाँगुनारायण मन्दिरलाई चारैतिर टेको लगाएर अड्याइएको छ । मन्दिरको चारै सुरको गारो छुट्टिएर बाहिर निस्किएपछि मन्दिरको वरिपरि नै टेको लगाइएको हो । मन्दिरको पश्चिमपट्टि माथिको झ्याल निस्किएको छ । मन्दिरको दायाँतर्फको ठूलो घन्टा ढलेको छ । मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले संरक्षण गर्न मन्दिरमा टेको लगाइएको बताउनुभयो । पुरातत्व विभाग भक्तपुरले भत्किएका मन्दिर एवम् सम्पदाको विवरण सङ्कलन गर्न थालिएको जनाएको छ । –––––––
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्